भारतको राज्य संयन्त्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको ओलीको आरोप

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन् । उनले देशभित्र र बाहिर ठुलो समुह आफूलाई हटाउन लागिरहेको बताएका हुन् ।

आज मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा भारतीय मिडिया र बौद्धिक बहसहरुबारे उल्लेख गर्दै आफूलाई हटाउन भारत लागेको आरोप लगाएका हुन् । उनले भने, ‘भारतीय मिडिया सुन्नुभएको होला, प्रधानमन्त्री परिवर्तन हुँदैछ भनेर हल्ला गर्दैछन् । कसरी भारतीय राज्य संयन्त्र सक्रिय छ भन्ने बुझ्नुभएको होला ।’ उनले भारतको राज्य संयन्त्र नै आफ्नाविरुद्ध सक्रिय रहेको आरोप लगाए ।

देशको नयाँ नक्शा जारी गरेपछि भारत आफूलाई हटाउन सक्रिय भएको ओलीको भनाई थियो । उनले विगतमा पनि चीनसँग व्यापार तथा पारवहन सन्धी गरेलगत्तै हटाइएको स्मरण गराउँदै अतिक्रमित भुमि फिर्ता गराउन लागिपरेपछि हटाउन खोजेको बताए ।

देशभित्र पनि आफूलाई हटाउन सक्रियहरु रहेको ओलीले बताए । उनले केही नेताहरु आफूलाई हटाउन सक्रिय भएको बताए । तर, उनले ती नेताहरुको नाम उल्लेख गरेनन् ।

‘चीनसँग सम्झौता गरेर फर्किएपछि सरकार ढलेको बेलामा बहुमत थिएन,’ ओलीले भने । तर, अहिले सरकार ढाल्ने सपना नदेख्न भने । उनले भने, ‘कसैले नसोचे पनि हुन्छ ।’ ओलीले नेपाली राष्ट्रियता मजबुत भएकाले राष्ट्रका लागि काम गर्दा बाह्य शक्तिले हटाउन नसक्ने समय बनिसकेको बताए ।

भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हट्ने दिन नजिक आइसकेको विषय बाहिर आएको थियो । उनको पार्टीभित्र राजीनामाको माग समेत भएको विषय रिपोर्टर्स नेपालले खुलासा गरेको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागिसकेका छन् । दुई अध्यक्षबीच अहिले विवाद बढेको छ ।

Leave A Reply

Your email address will not be published.