विदेशमा रहेका ३ हजार ३४ नेपालीको उद्धार: कुन देशबाट कति आए ?

0

काठमाण्डौं – सरकारले गरेको निर्णयपछि विदेशमा अलपत्र नेपालीको धमाधम उद्धार भइरहेको छ। कोरोना भाइरस संकट व्यवस्थापन-सिसीएमसी स्रोतका अनुसार शुक्रबारसम्म ३ हजार ३४ नेपाली स्वदेश फर्किएका छन्।

यसमा सबैभन्दा बढी कुवेतबाट फर्कने छन्। कुवेतबाट ८ सय ९८ जना फर्किएका छन्। उनिहरु अधिकांश महिला छन्।

यूएईबाट ४ सय ३३, मलेसियाबाट एक सय १८, ओमानबाट तीन सय १३, बंगलादेशबाट ४ सय १५, मालदिभ्सबाट ३ सय १०, थाइल्यान्डबाट २ सय ४८, कतारबाट ४३, साउदी अरबबाट एक सय ५३, जर्मनीबाट १ जना, म्यानमारबाट २६ जना, जापानबाट १३ जना, हङकङबाट ७ जना र अस्ट्रेलियाबाट ११ जना नेपाल फर्किएका छन्। बंगलादेशबाट फर्किएकामा २ जना बंगलादेशी नागरिक पनि छन्।

ओमानबाट त्यहीँको एयरलाइन्स सलाम चार्टर्ड गरि नेपाली ल्याइएको छ। कुवेतबाट त्यहाँको सरकारले आम माफी पाएका नेपाली कामदारलाई जजिरा एयरलाइन्समार्फत पठाइरहेको छ। म्यानमारले सैनिक विमानमार्फत आफै नेपाली पठाएको हो। शुक्रबार कतारबाट कतार एयरलाइन्समा आएका ४३ यात्रु पनि त्यहीँको सरकारले पठाएका हुन्।

नेपालबाट यात्रु लिएर गएको नेपाल एयरलाइन्सले जापान , अस्ट्रेलियाबाट र हङकङबाट फर्कँदा त्यहाँ रहेका केही नेपाली लिएर आएको थियो, परराष्ट्र मन्त्रालयको स्वीकृतीपछि। नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले खाडीसहित जापान, अस्ट्रेलिया, इजरायललगायत देश पुगेर चार्टर्ड गरि नेपाली ल्याउँदै छ। अमेरिकाबाट कतार एयरलाइन्स र टर्किस एयरलाइन्सले नेपाली ल्याउँदै छ। विभिन्न देशबाट फर्कने नेपालका लागि चार्टर्ड विमानको हवाई भाडा सरकारले तोकेको छ।

पहिलो चरणमा विदेशमा अलपत्र रहेका २५ हजार नेपालीलाई ल्याउने सरकारको तयारी छ। त्यसका लागि सरकारले विभिन्न १५ वटा प्राथमिकता निर्धारण गरेको छ।

Leave A Reply

Your email address will not be published.