नेपालमा संविधान संशोधन हुने दिन नै भारतीय सेना प्रमुखको बोली किन फेरियो ?

0

काठमाण्डौं – नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो क्षेत्रभित्र समेटेर जारी गरेको परिमार्जित नक्सालाई अनुमोदन गर्नका लागि संविधान संशोधन प्रक्रियालाई अन्तिम रुप दिने निर्णायक दिनमै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको बोली फेरिएको छ । इण्डियन एक्सप्रेसका अनुसार शनिबार नरवणेले नेपाल र भारतबीच अत्यन्तै बलियो र घनिष्ठ सम्बन्ध रहेको टिप्पणी गरेका छन् ।

यसअघि नरवणेले नेपालले कसैको इशारामा भारतविरोधी कदम उठाएको आरोप लगाएका थिए । उनले चीनले नेपाललाई उचालेको आरोप समेत लगाएका थिए । भारतको देहरादूनस्थित भारतीय मिलिटरी एकेडेमीमा आएका सेनापति नरवणेले शनिबार भने नेपालसँग भारतको बलियो सम्बन्ध भएको टिप्पणी गरे । पहिले नेपाललाई अपमान गरी अभिव्यक्ति दिएका नरवणेको एक्कासी बोली फेरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नरवणे नेपालका मानार्थ प्रधानसेनापति पनि हुन् । नेपाली सेनाले भारतका सेनापतिलाई र भारतीय सेनाले नेपालका सेनापतिलाई मानार्थ सेनापति दिने प्रचलन अनुसार नेपाली सेनाले उनलाई मानार्थ सेनापतिको दर्जा दिएको छ । तर, पछिल्लो पटक उनले नेपाललाई चीनको इशारामा चलेको आरोप लगाएसँगै नेपालमा उनलाई दिइएको मानार्थ पद खोस्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।

शनिबार देहरादूनमा बोल्दै नरवणेले भने ‘हाम्रो नेपालसँग धेरै बलियो सम्बन्ध छ । हाम्रो बीचमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध छ । हामीबीचमा जनता–जनताबीच पनि बलियो सम्बनध छ । हाम्रो नेपालसँगको सम्बन्ध सधैं बलियो रह्यो र भविष्यमा पनि बलियो रहनेछ ।’ स्मरणीय छ, नरवणेले जुन जमिनमा उभिएर यो अभिव्यक्ति दिए त्यो जमिन सुगौली सन्धिअघि नेपाल थियो । सुगौली सन्धिकै प्रावधान भारतले नमान्दा अहिलेको सीमा विवाद सृजना भएको हो ।

Leave A Reply

Your email address will not be published.