सरकारविरुद्ध संघर्ष गर्ने विषयमा राप्रपामा विवाद, लोहनीको निर्णयमा थापाको आपत्ति

0

काठमाण्डौं – सरकारविरुद्ध संघर्ष गर्ने विपक्षी दलहरुको निर्णयप्रति राप्रपामा विवाद भएको छ । राप्रपाका तीन अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले कांग्रेस र समाजवादी पार्टीसँग मिलेर ‘सरकारविरुद्ध संघर्ष’ गर्ने भनि गरेको निर्णयप्रति अर्का अध्यक्ष कमल थापाले तुरुन्तै असहमति प्रकट गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालयमा सोमबार दिउँसो भएको विपक्षी दलहरुको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको दाबी गर्दै विपक्षी सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो ।

बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. लोहनीले हस्तारक्ष गरेर सार्वजनिक हुने वित्तिकै अर्का अध्यक्ष कमल थापाले राप्रपाको यति बेला कसैविरुद्ध मोर्चाबन्दी गर्ने नीति नभएको बताएका हुन् । अहिलेको संकटको अवस्थामा राप्रपा राजनीतिक धुव्रीकरणको पक्षमा नरहेको थापाले प्रष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘संकटको वर्तमान घडीमा राजनीतिक धुव्रीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त हुँदैन । दलहरुबीच मोर्चा बन्दी गर्ने, संयुक्त संघर्षमा जानेबारे राप्रपाले कुनै निर्णय गरेको छैन ।’

तर राप्रपाले सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको सशक्त विरोध गर्दै आएको र भविष्यमा पनि गरिरहने थापाले जनाएका छन् । सत्तारुढ नेकपाभित्रैबाट सरकारमाथि प्रहार भइरहेका बेला विपक्षी दलहरुले पनि सरकारविरुद्ध एक भएर संघर्ष गर्ने निर्णय गरेका थिए ।

Leave A Reply

Your email address will not be published.