एक दिवसीय ‘प्रवासमा पत्रकारिता’ तालिम सम्पन्न : तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिकृया,

0

योगेन्द्र मिलन छन्त्याल

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले पत्रकारिताको आधारभूत सीमाभित्र रही स्वतन्त्रताको पक्षमा निडरतापूर्वक कलम चलाउन युरोपमा कृयाशिल पत्रकारहरुलाई सुझाब दिनु भएको छ ।

दाहालले नेपालमा विद्युतीय कारोबार ऐनको दुरुपयोग गर्दै सरकारले केही पत्रकारहरुलाई दु:ख दिएको तथ्य पनि प्रस्तुत गर्नु भयो । अभिव्यक्तिको स्वतन्त्रताका लागि समस्यामा पर्ने तमाम प्रवासी नेपाली पत्रकारहरुलाई व्यक्तिगत र संस्थागत रुपमा फोरमले सहयोग गर्न सक्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरोना महामारीको जटिल र विषम परिस्थितिमा सबै सहभागीलाई सुरक्षित रहन, जिम्मेवार, उत्तरदायी र तथ्यपरक पत्रकारिता गर्न सुझाव दिनु भयो । पोर्तुगल र बेल्जियममा रहेका पत्रकारहरुका लागि एक दिवसीय पत्रकारिता तालिममा उहाले पत्रकारलाई राज्यद्वारा अभिभाकत्व दिन नसकेको गुनासो रहेको भनाइ राख्नु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पनि कार्यक्रम सफलताको शुभकामना र युरोपका पत्रकार साथीहरुको सुस्वास्थ्य कामनाको सन्देश पठाउनु भएको थियो ।


‘हामी पत्रकार पनि सबै नागरिकसरहकै हौं । नागरिकले सूचना पाए भने आफ्नो नजिकको आफन्त, परिवार र छिमेकीलाई जानकारी गराउदछन् । तर हामीले संसारभरका नेपाली समुदायलाई सुसूचित गराउदछौं । त्यसैले पत्रकारिता अत्यन्तै जिम्मेवार पेशा हो ।’ तालिमका सहजकर्ता त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका उप प्राध्यापक जगत नेपालले भन्नु भयो , ‘पत्रकारले सम्प्रेषण गरेका समाचारले स्रोतलाई असर पार्न हुँदैन ।’


‘अहिलेको सूचना तथा प्रविधिको युगमा शक्तिशाली र नामुद मिडिया हाउसमै काम गर्नुपर्छ भन्ने छैन । हाम्रा कलमले समुदायको मन छोयो भने सामाजिक सञ्जालमा भाईरल बन्न सक्छ ।’ अर्का सहजकर्ता त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका उप प्राध्यापक प्रकाश आचार्यले भन्नु भयो । – ‘समाचार सम्प्रेषण गर्दा सधैं सचेत, सजग र तटस्थ रहनुपर्छ, तब मात्र विश्वसनीय बन्न सकिन्छ । पत्रकारले आफ्नो इमेज आफै बनाउने हो ।’


सहभागी सागर सुवेदीले तालिम अत्यन्तै उपयोगी, प्रभावकारी र ज्ञानवर्द्धक भएको प्रतिकृया दिदै सहभागी हुने अवसर दिएकोमा आयोजक संस्था पोर्तुगल शाखा र बेल्जियम शाखालाई आभार प्रकट गरे ।
बन्दाबन्दीका बेला नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगल शाखाले ‘प्रवासमा पत्रकारिता’ विषयक एक दिवसीय तालिमको आयोजना गरेका थिए । तालिमको सहजीकरण दाहाल, नेपाल र आचार्यले गरेका थिए । सोमबार सम्पन्न तालिम जुम एप प्रयोग गरेर सञ्चालन गरिएको थियो ।


युरोप शाखा सल्लाहकार एवं बेल्जियम शाखाका संयोजक ओम शर्मा, युरोप शाखा महासचिव एवं पोर्तुगल शाखा संयोजक योगेन्द्रमिलन छन्त्याल, युरोप शाखा वरिष्ठ उपाध्यक्ष एवं बेल्जियम शाखा सदस्य डिल्ली अम्माई, युरोप शाखा सचिवद्वय द्रोण रिजाल (नेदरल्यान्डस) र वसन्त रानाभाट (स्पेन), युरोप शाखा सचिव एवं पोर्तुगल शाखा प्रवक्ता पेम्बागेलु शेर्पा, युरोप शाखा सदस्य एवं बेल्जियम शाखा सचिव शेरबहादुर छन्त्याल, युरोप शाखा सदस्यहरु गणेश पाण्डेय (पोर्तुगल), नीलम घिमिरे (बेल्जियम), वाइबी गुरुङ (पोर्तुगल) र भोला लामिछाने (स्पेन) तालिममा सहभागी रहेका थिए ।


यसैगरी तालिममा फ्रान्सबाट नेपाल पत्रकार महासंघ युरोप शाखा संस्थापक अध्यक्ष ददी सापकोटा र पूर्व उपाध्यक्ष अनुराधा पौडेल, पोर्तुगलबाट भगवान गिरी, बासु सत्याल, छबिलाल बगाले, हरिकृष्ण पन्थी, पूर्ण विक, निरञ्जन सापकोटा र फुर्वान रायमाझी सहभागी थिए भने बेल्जियमबाट साइमान आले, सुदर्शन सिंखडा, सन्तोष न्यौपाने, जर्मनीबाट दीपक धिताल र सुमन वाइबासाथै अष्ट्रियाबाट सागर सुवेदीको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.