ज्ञानेन्द्र शाहीका समर्थकले धम्की दिएपछि ललितपुरका सिडियोको गृहमन्त्रालयमा सरुवा

0

काठमाण्डौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेको लकडाउनकै वीचमा सरुवा भएको छ । पाण्डेले आफुलाई काम गर्न असहज भएको भन्दै गृहमन्त्रालयमा सरुवा हुन चाहेको जानकारी गराएपछि उनको ठाउंमा गृहमन्त्रालयकको व्यवस्थापन महाशाखाका प्रमुख रहेका नारायण भट्टलाई प्रमुख जिल्ला अधिकारीको रुपमा ललितपुर पठाइएको छ । भट्ट यसअघि चितवन,मकवानपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी थिए ।

अभियन्ता ज्ञानेन्द्र शाही ललितपुरमा राहत वितरण गर्न जांदा प्रक्राउ परेपछि उनका समर्थकहरुले त्यसको विरोध गरेका थिए । शाहीलाई प्रमुख जिल्ला अधिकारी पाण्डेको आदेशमा प्रहरीले प्रक्राउ गरेपछि शाहीका समर्थकहरुले उनलाई धम्की र अपशव्द प्रयोग गरेर म्यासेजहरु पठाउने र फोनमा समेत गाली गर्ने गरेपछि पाण्डेले सरुवा माग गरेको गृहमन्त्रालय स्रोतले जानकारी दियो ।

‘उहांले ज्ञानेन्द्र शाही प्रक्राउ परेपछि उनका समर्थकहरुले आफुलाई गाली गलौच गरेको र फोनमा धम्की समेत दिएको भन्दै त्यहा बस्न असहज भएको भन्दै सरुवा माग्नुभयो, हामीले उहांको ठाउंमा नयां सिडियो पठाएका छौ ।’ गृह स्रोतले काठमाडौंपाटीलाई भन्यो । पाण्डे लेखाको पृष्ठभुमि भएका सहसचिव भएपनि यसअघि उनले सप्तरी,बाग्लुङ र धादिङको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेका थिए ।

पाण्डेले सुरुमा प्रहरीले बेवास्ता गरेर शाहीलाई प्रक्राउ नगरेको गुनासो गृहमन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीलाई धम्की दिने शाहीलाई तुरुन्त प्रक्राउ गर्न ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई निर्देशन आएको थियो । मन्त्रालयको निर्देशनअघि नै प्रहरीले शाहीलाई निगरानीमा राखेको थियो ।

प्रमुख जिल्ला अधिकारीले प्रक्राउको लागी आदेश दिन सुरुमा आनाकानी गरेको स्रोतको दावी छ । जिल्ला सुरक्षा समितिको बैठकमा ललितपुर प्रहरी प्रमुख राईले शाहीलाई आदेश भए प्रहरीले जतिवेला पनि प्रक्राउ गर्ने बताएको स्रोतले बतायो । उनलाई राज्यविप्लप, अभद्र व्यवहार र कोरोनोको समयमा सरकारको निर्णय उल्लंघन गरेको आरोपमा मुद्दा चलाउनेबारे छलफल भएपनि अन्तिममा शाहीलाई अभ्रद व्यवहारमा मुद्दा चलाइएको हो ।

‘सुरुमा सिडियो सापको शाहीसंग कुरा गरौ, अहिले नै प्रक्राउ नगरौ भन्ने थियो । स्थानिय निकायसंग समन्वय गरेर उनलाई राहत वितरण गर्न दिऔं भन्ने भएपछि हामीले त्यहिअनुसार काम गरेका थियौ । पछि गृहमन्त्रालयबाट सिडियोलाई धम्की दिंदा पनि प्रक्राउ नगरेको भन्दै चासो व्यक्त भएपछि सुरक्षा समितिको बैठक बसेर प्रक्राउ गर्ने निर्णय गरेका हौ ।’ ललितपुर प्रहरी स्रोतले भन्यो ।

Leave A Reply

Your email address will not be published.