कोरोना भाइरसले साढे चार महिनामा लियो दुई लाख भन्दा बढीको ज्यान

0

काठमाण्डौं – कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ ।

जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम्तिमा दुई लाख दुई हजार ४५५ पुगेको छ । विश्वभर २८ लाख ९२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार भन्दा माथि छ ।

अहिलेसम्म अमेरिकामा कम्तिमा ५३ हजार ५११ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा सबैभन्दा धेरै ९ लाख ३६ हजार भन्दा माथि पुगेको छ ।

वुहानमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । गएको डिसेम्बर तेस्रो हप्ता चीनको वुहान शहरबाट सुरु भएको नोवेल कोरोना भाइरसका कारण जनवरीको दोस्रो हप्ता पहिलो व्यक्तिको निधन भएको थियो ।

चीनको सरकारी सञ्चारमाध्यमले कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु जनवरी ११ मा भएको पुष्टि गरेको थियो । त्यसयता विश्वका २१० देश तथा प्रशासित क्षेत्रमा संक्रमण फैलिएको छ ।

विश्वका पाँच देशमा २० हजार भन्दा बढी मानिसको कोभिड–१९ बाट मृत्यु भएको छ । बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको इटालीमा अहिलेसम्म २६ हजार ३८४ जनाको निधन भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९५ हजार भन्दा बढी छ । स्पेनमा ज्यान गुमाउनेको संख्या २२ हजार ९०२ तथा संक्रमित दुई लाख २३ हजार भन्दा बढी छन् ।

फ्रान्समा २२ हजार ६४८ को ज्यान गएको छ भने एक लाख ६१ हजार भन्दा बढी संक्रमित छ । यसैगरी बेलायतमा २० हजार ३८१ को निधन भएको छ र संक्रमितको संख्या एक लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

विश्वका अधिकांश देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन तथा सामाजिक दूरीसहितका उपायहरु लागु गरिएका छन् ।

स्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरु यसको खोप बनाउने प्रयासमा जुटेका छन् । कम्तिमा तीनवटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपको निर्माण तथा त्यसको वितरण व्यवस्थित गर्नका लागि योजनाहरु बनाइरहेको बताएको छ ।

तर यहिबिचमा डब्लुएचओले एक पटक कोरोना भाइरसको संक्रमण निको भएका व्यक्तिमा बनेको एन्टिबडीका कारण पुनः संक्रमणको जोखिम नरहने कुरा प्रमाणित नभएको बताएको छ ।

Leave A Reply

Your email address will not be published.