ओली, देउवा र दाहाललाई टुँडिखेलमा झुण्ड्याउने किरातीको घोषणा

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशद्रोहको अपराध गरे आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडिखेलमा लगेर झुड्याउने घोषणा गरेका छन् ।

राष्ट्रको स्वाधीनता र जनताको सार्वभौमिकताको रक्षाको लागि सर्वहारा वर्गको नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको समेत माओवादी केन्द्रको ठहर छ ।

आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा किरातीले यस्तो धारणा राखेका हुन् । अध्यक्ष किरातीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष क. गोपाल किराती, प्रदेश १ अध्यक्ष क. विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष क. शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. कुमार राई बान्तवा हुनुहुन्थ्यो । उक्त अभियानमा प्रदेश २ अध्यक्ष क. बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष क. अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज क. रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कम्रेडहरुले ऐतिहासिक यात्रा गर्नुभयो ।’ अभियानले एक हजार ४० किलोमिटरको पैदल यात्रा तय गरेको थियो ।

मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे । ‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस÷गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो ।’–उनले भने ।

विज्ञप्तीमा थप भनिएको छ,‘देशभक्त जनसाँस्कृतिक अभियानको प्रारम्भिक चरणलाई निम्न बुँदामा संश्लेषण गर्न सकिन्छ ः १. नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा फेरी पनि बलिदान गर्न दृढतापुर्वक अग्रसर छ । त्यसर्थमा माओवादी केन्द्र देशको प्रवक्ता बन्न सक्छ । २. अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र स्थानीय दलाल पुँजीवाद विरुद्ध दीर्घकालीन प्रतिरोध संघर्ष लड्न देशभक्त जनसेना निर्माणको अपरिहार्य आवश्यकता छ ।’

नेपाली सेना र प्रहरी सरकारी फौज भएकोले सरकारको निर्देशनमा रहनुपर्ने उक्त पार्टीको ठम्याई रहेको छ । विज्ञप्तीमा भनिएको छ,‘तर, खड्ग ओली सरकार भने नेपाललाई अफगानिस्तान वा इराक बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद र सिक्किम, भुटान वा फिजी बनाउन खोज्ने भारतीय विस्तारवाद सामु लम्पसार परेको छ । अतः देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नुपर्छ ।’

अध्यक्ष किरातीले मोहन बैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताको लागि छलफल भैरहेको पनि स्पष्ट पारे । आफ्नो पार्टी एमसीसी र सीमाको विषयमा दश दलीय मोर्चामा आवद्ध रहेकोबारे उनले प्रकाश पारे ।

Leave A Reply

Your email address will not be published.