‘ओलीबाट निरन्तर धोका मात्रै पाएको छु’ : वामदेव गौतम

0

काठमाण्डौं – दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण गराएर बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नेकपा उपाध्यक्ष वामदेव गौतमको आक्रोश कम भएको छैन् । अस्पताल बाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना एक विश्वासपात्रलाई उपाध्यक्ष गौतमको धारणा बुझ्न उनकै निवासमा पठाएको बुझिएको छ ।

प्रधानमन्त्रीका विश्वासपात्रसँग उपाध्यक्ष गौतमले प्रधानमन्त्रीप्रति आक्रोश पोख्दै ‘प्रधानमन्त्री ओलीबाट निरन्तर धोका र अपमान मात्रै पाएको’ नेकपा निकट उच्च स्रोतले दावी गरेको छ । प्रधानमन्त्री ओलीले आफूलाई व्यक्तिगत तवरमा पनि आक्रमण गरेको भन्दै उपाध्यक्ष गौतमले ती विश्वासपात्रसँग आक्रोश पोखेको बुझिएको छ ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन एमालेको संसदीय दलको चुनावमा आफूले ओलीलाई सघायर नजिताएको भए नेपालको राजनीति बाट ओलीको पतन हुने दावी गर्दै उपाध्यक्ष गौतमले त्यसको बदलामा आफूले निरन्तर धोका मात्रै पाएको उल्लेख गरेका थिए ।

‘हरेक पटक संकटको समयमा ओलीलाई मैले साथ दिदैं आएको छु । संसदीय दलको नेता होस् वा नवौं महाधिवेशनमा एमालेको अध्यक्ष पदमा निर्वाचित हुन होस् मेरो भूमिका कति महत्त्वपूर्ण थियो यो त सबैलाई थाहा भएकै कुरा हो ।’ गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

‘ओलीले आफूलाई संकटको समयमा हरेकपटक साथ लिनको लागि आश्वासन दिने तर अन्तिम समयमा धोका दिने गरेको’ आरोप लगाउँदै आफ्नो योगदानको प्रतिफलमा धोका र अपमान मात्रै पाएको उनको भनाइ छ । बर्दियाबाट प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि पनि प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन दिएर कार्यान्वयन नगरेर धोका दिएको उनको आरोप छ ।

‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा लैजाने वातावरण तयार गर्न चासो नदिएपछि मैले नै वातावरण बनाए, एक जना सांसदले पद छाड्न समेत तयार भएर राजीनामा पत्र समेत तयार गरीसकेपछि पनि मलाई रोक्ने काम भयो । त्यो सबै उनै (प्रधानमन्त्री ओली) ले नै गर्न लगाएका हुन् ।’ उपाध्यक्ष गौतमले आक्रोश व्यक्त गरे ।

आफूलाई राष्ट्रियसभामा लैजाने भनेर प्रतिबद्धता गर्ने पनि प्रधानमन्त्री ओली नै हुन् तर उनै ओलीले अहिले आफूलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव अस्वीकार गर्नुलाई के भन्ने ? सचिवालयको बैठकमा समेत प्रधानमन्त्री ओलीले ‘म मिर्गौला प्रत्यारोपण गराएर आउँछु र सरकार चलाउँछु भनेर मलाई नै व्यङ्ग्य गरेका हुन् ।’ गौतले आक्रोश पोख्दै यसलाई धोका नभनेर के भन्ने भन्दै कड्किएका थिए ।

पछिल्लो समय गौतमलाई भेट्न जाने जो कोही नेता सँग पनि उनले प्रधानमन्त्री ओलीले आफूलाई धोका दिएको गुनासो गर्ने गरेको नेकपा नेताहरूको भनाइ छ । पार्टी सचिवालयले गरेको निर्णय एकमतले कार्यान्वयन हुनुपर्ने उनको अडान रहेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.