सार्क नेताहरुको साँझ भिडियो कन्फरेन्स

0

काठमाण्डौं – कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा बलियो रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुले संयुक्त छलफल गर्ने भएका छन् । आज साँझ पाँच बजे सार्क नेताहरुको भिडियो कन्फेरेन्स हुने भएको छ ।

भिडियो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन् । मृगौला प्रत्यारोपणपछि अस्पतालबाट दुई दिनअघि डिस्चार्ज भएपनि ओली भिडियो कन्फेरेन्समा सहभागी हुने बुझिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फरेन्समा सहभागी हुने टुंगो लागिसकेको छ । बँगलादेश र भुटानबाट प्रधानमन्त्री, मालदिभ्स, अफगानिस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी हुनेछन् । यी देशका नेताहरुले मोदीको प्रस्तावको स्वागत गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने कुनै सार्वजनिक जवाफ दिएनन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका थिए । उनले शुक्रबार दिउँसो यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका थिए । त्यसमा पाकिस्तानबाहेक सार्क देशका राष्ट्रपति र प्रधानमन्त्रीहरुले तत्काल स्वागत गर्दै मिलेर कोरोना भाइरसविरुद्ध अगाडि बढ्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

शनिबार साँझ पाकिस्तानबाट पनि भिडियो कन्फेरेन्सबारे जवाफ आएको थियो । तर, यसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सहभागी हुनेछैनन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अइसा फारुकीले पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्यसम्बन्धि विशेष सहयोग जफर मिर्जा भिडियो कन्फेरेन्समा सहभागी हुने जनाएकी छिन् ।

सार्कका सबै देशहरुमा कोरोना भाइरसको संक्रमित भेटिइसकेका छन् । भारतमा दुई व्यक्तिको मृत्यु भइसकेको छ । भाइरसले सार्क देशहरुमा भयावह रुप नलिएपनि बेलैमा सचेत भई आवश्यक रोकथामको उपाय अबलम्बन गर्ने तत्परता देखिएको हो ।

सार्क शिखर सम्मेलन हुन नसकिरहेको र सार्क निष्कृय जस्तै भइरहँदा मोदीले सार्क राष्ट्र मिलेर अगाडि बढ्नुपर्ने बताउनुलाई अर्थपूर्ण मानिएको छ ।

Leave A Reply

Your email address will not be published.