कोरोना भाइरसः चीनमा नियन्त्रणतर्फ, युरोप र अमेरिकामा संकट

0

काठमाण्डौं – चीनको वुआन प्रान्तबाट फैलिएको कोरोना भाइरस विश्वव्यापी भइरहेको छ । चीनले भाइरसलाई नियन्त्रणमा लिने क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर, यसले युरोप र अमेरिकामा भयावह रुप लिने खतरा बढेको छ ।

युरोपका सबै देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सँसारमा भाइरसको बढी संक्रमण भएका ११ देशहरुमध्ये छ देश युरोपका छन् । इटाली, जर्मनी, स्पेन, फ्रान्स, बेलायत र नेदरल्यान्डमा बढी समस्या देखिएको छ । युरोपमा भाइरसले भयावह रुप लिने खतरा बढेपछि युरोपेली युनीयन सम्वद्ध देशका नेताहरुले भिडियो कन्फरेन्स गरेर रोगविरुद्ध चाल्ने संयुक्त कदमका बारेमा छलफल गरेका छन् ।

इटाली चीनपछि बढी संक्रमित भएको र मृत्यु भएको तथ्यांक छ । त्यहाँ ६३१ जनाको निधन भइसकेको छ । कोरोनाबाट १० हजार भन्दा बढी संक्रमित भेटिइसकेका छन् ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । त्यहाँ ३१ जनाको मृत्यु भइसकेको छ । अमेरिकाका कतिपय राज्यहरुले संकटकाल घोषणा गरिसकेका छन् । युरोपको पर्यटन गन्तव्य मुलुक इटाली देशनै ठप्प छ । छ करोड जनसंख्या घरमै बसेका छन् ।

बुधबार सम्म विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या एक लाख १५ हजार कटेको छ । संक्रमणबाट मर्नेको संख्या ४२ सय कटेको छ ।
इन्डोनेशियामा कोरोना भाइरसबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । इरानमा कोरोना भाइरस अझै फैलिइरहेको छ । त्यहाँ चीन र इटालीपछि सबैभन्दा बढी मानिसको संक्रमणबाट मृत्यु भएको तथ्यांक छ । त्यहाँ २९१ मानिसको मृत्यु भइसकेको छ । आठ हजार मानिस संक्रमित भेटिइसकेका छन् ।

भाइरसको संक्रमण हुन नदिन कतिपय देशले सीमा बन्द गरेका छन् । मंगोलियाले पहिलो कोरोना भाइरसको संक्रमित भेटेपछि रुस र चीनसँगको सीमा बन्द गरेको छ ।

जापान र दक्षिण कोरियामा भाइरस खतरनाक बनेको छ । दक्षिण कोरियामा झण्डै आठ हजार मानिस संक्रमित भइसकेका छन् । जापानमा मंगलबार ५४ जना नयाँ संक्रमित भेटिएका छन् ।

Leave A Reply

Your email address will not be published.