इन्धनमा सरकारले यसरी जनतालाई चुस्यो

0

काठमाण्डौं – नेपाल आयल निगमले आफ्नो वेवसाइटमा विश्वबजारमा तेलको मूल्य घटबढको ग्राफ राखेको छ । तेलको मूल्य घटेर ग्राफ सिधै तल झरेको छ । उपभोक्ता भने विश्वबजारमा अहिलेको भन्दा दोब्बर मूल्य रहेकै अवस्थाको मूल्य तिर्न वाध्य छन् ।

हुनत नेपाली नागरिकले नाकाबन्दीमा लिटरको पाँच सय मूल्य तिरेर पनि कालोबजारबाट तेल खरिद गरेका थिए । अहिले विश्वबजारमा यति धेरै मूल्य घट्दा पनि राज्यले तेलको मूल्य घटाएर उपभोक्तालाई राहत दिलाउने कदम चालिरहेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा स्वतः मूल्य बढाउने आयल निगमले यसपटक यति धेरै मूल्य घट्दा पनि मौनता साँधेको छ । अबको पाँच दिनपछि मात्र मूल्य संशोधन हुनेछ । त्यसको अर्थ निगमले पाँच दिनमै करोडौं नाफा बनाइसक्छ ।

आयल निगमलाई अहिलेको अवस्थामा महिनाको एक अर्ब जति फाइदा छ । यसअघि कच्चा तेलको मूल्य ५० डलरमा हुँदा १५ दिनमै निगमले १८ करोड रुपैयाँ नाफा कमाएको तथ्यांक छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइत यसअघिको १५ दिनमा १८ करोड रुपैयाँको हाराहारीमा नाफा भएको खुलाउँछन् । त्यो नाफा अहिलेको अवस्थामा दोब्बर भन्दा बढी देखिन्छ ।

निगम नाफामा रमाइरहेको छ । उपभोक्ता भने मूल्य घट्दाको लाभ लिन पाइरहेका छैनन् । देशमा नागरिकमाथि चुस्नु मात्र पर्छ भन्ने मानसिकता शासकहरुमा रहेको छ । राज्यले सुखी नेपालीको नारा त दिएको छ तर जनतालाई दुःखमात्र दिइरहेको छ । यसको ज्वलन्त उदाहरण तेलको मूल्यबाट थाहाहुन्छ । नेपाल सरकार मातहतको निकाय नेपाल आयल निगमलाई नाफाखोरमा रुपान्तरण गरेर राज्यमा रहेकाले ठूलो बदमाशी गरेका छन् ।

इन्धनको मूल्यमा कर लगाएर उपभोक्ताको ढाड सेकिएको छ । पछिल्लो पटक पाँच रुपैयाँ अतिरिक्त रुपैयाँ थपिएको छ । अर्थमन्त्री युवराज खतिवडाले कर थपिदा पनि मूल्य बढ्दैन भनी चलाखी गरे । यतिबेला अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको मौका छोपेर पेट्रोल र डिजेलमा प्रति लिटर पाँच रुपैयाँ उपभोक्तालाई बढी रकम तिर्न लगाएर संकलन गरिएको छ । बुढिगण्डकीलगायतका जलविद्युत आयोजना निर्माणका लागि भनी यो रकम उठाइएको छ । केही वर्ष अघि बुढीगण्डकीकै लागि भनेर प्रति लिटर एक रुपैयाँ अतिरिक्त रकम लिएर शुरु गरेकोमा बढाएर पाँच रुपैयाँ पुर्याइएको थियो । फेरि बढाएर १० रुपैयाँ बनाइएको छ । यसैगरी सरकारले नागरिकमाथि चुसिरहने रणनीति बनाएको छ । न त जलविद्युत परियोजना अगाडि बढेको छ न त नागरिकले आशा गर्न सक्ने अवस्था बनेको छ ।

विश्व बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारल ३४ डलर रहेको छ । कोरोना भाइरसका कारण विश्वभर संकट आएपछि खपत घट्दा यो अवस्था आएको हो । त्यसमाथि रुस र अमेरिकाबीचको तेलयुद्धले समेत विश्व बजारमा तेलको मूल्य खस्किएको छ ।

भाइरसका कारण अर्थतन्त्रमा असर पर्दा नेपाली उपभोक्ताको खर्च गर्ने क्षमतामा पनि गिरावट आइसकेको छ । तर, सरकार पुरानै मूल्यमा तेल किन्न वाध्य पारिरहेको छ । मूल्य अभिवृद्धि कर १३ प्रतिशत, अतिरिक्त कर प्रतिलिटर १० रुपैयाँका अलावा प्रतिलिटर नाफा १० रुपैयाँभन्दा बढी लिएर सरकारले २० प्रतिशतभन्दा बढी असुली गरिरहेको छ । कुनैपनि सामानमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने ऐनमा उल्लेख छ । तर, सरकार आफैले यसलाई लत्याएर कालाबजारीलाई प्रोत्साहन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.