श्रीलंकाद्वारा एमसीसी अस्वीकार, नेपालले के गर्ला ?

0

काठमाण्डौं – अमेरिकाको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा श्रीलंकाले हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता केहेलिया राम्बुकेवेलाले बिहीबार एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको जानकारी दिएको श्रीलंकाली मिडिया न्यूजफर्स्टले लेखेको छ । नेपालमा एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपा नै विभाजित भएका बेला छिमेकी राष्ट्रको यो निर्णयले नेपाल प्रश्नको कठघरामा उभिएको छ । अब नेपालले के गर्ला भन्ने प्रश्न उठेको छ ।

समाचारमा जनाइएअनुसार श्रीलंकाले पनि एमसीसीको बारेमा अध्ययन गर्न विज्ञहरुको एक कार्यदल गठन गरेको थियो । यही कार्यदलको फिारिसका आधारमा एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको हो । मन्त्रिपरिषदका प्रवक्ता राम्बुकेवेलाले एमसिसी श्रीलंकाको संविधान अनुकूल नभएको देखिएकोले आफ्नो देशको सुरक्षा चासोलाई समेत मध्यनजर गर्दै हस्ताक्षर नगर्ने निर्णय गरिएको हो ।

नेपालले भने यो सम्झौतामा यसअघि नै हस्ताक्षर गरिसकेको छ । देउवा सरकारका पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसमा हस्ताक्षर गरेका छन् । नेपालले अब यसलाई संसदबाट पारित गराउन बाँकी छ । यही विषयमा नेकपामा विवाद छ । एमसीसी बिना संशोधन पारित गराउने कसरत भइरहेका बेला छिमेकी देशको यस्तो निर्णयले नेपालमा तरंग ल्याउने देखिएको छ ।

नेकपाले एमसीसीबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य रहेको कार्यदलले अध्ययन गरी प्रतिवेदन समेत बुझाइसकेको भए पनि प्रतिवेदनमा के छ भन्ने सार्वजनिक गरिएको छैन । यद्यपि कार्यदलका संयोजक खनालले सार्वजनिक कार्यक्रममा जस्ताको तस्तै एमसीसी पारित गर्न नसकिने र संशोधन गर्नुपर्ने धारणा राख्दै आएका छन् । यस आधारमा प्रतिवेदनमा पनि संशोधन गर्न सिफारिस गरिएको अनुमान गर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.