छाया सरकारको बैठक : के के भए निर्णय ?

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया सरकारको बैठकले छाया सरकारको गतिलाई थप सशक्त बनाउँदै सरकारका गतिविधिलाई निगरानी गर्ने निर्णय गरेको छ ।

कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आजका लागि बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमार्फत कांग्रेसले ‘छाया सरकार’मा रहेका संयोजक र सदस्यहरूलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिने तयारी गरेको छ ।

त्यस्तै छाया सरकारको नियमित बैठक बस्ने गरेका कामको समिक्षा गर्दै हरेक छाया मन्त्रीहरूले मन्त्रालयगत रूपमा हुने गरेका भ्रष्टाचार र अनियमितताका कुराको अध्ययन गर्दै विभागीय मन्त्रीहरूले गरेका भ्रष्टाचार र अनियमितता सार्वजनिक गर्दै भण्डाफोर गर्ने रणनीति पनि अख्तियार गरेको छ ।

त्यस्तै कांग्रेसले छाया सरकारका संयोजक र सदस्यहरूलाई पनि सरकारका गतिविधिमा सुक्ष्म निगरानी राख्न हरेक मन्त्रालयका बाँस्कोटाहरूको भण्डाफोर गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । सरकार नीतिगत भ्रष्टाचार लिप्त भएको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दलको नाताले आफ्नो जिम्मेवारी अझै बढेको समेत कांग्रेसको ठहर छ ।

सबै मन्त्रालयमा हुने गरेका अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्नुका साथै आम सेवाग्राहीले भोग्नुपरेका पिरमार्का र समस्या समाधानमा समेत सहजीकरण गर्नुपर्ने छाया सरकारको निष्कर्ष छ । त्यस्तै बाँस्कोटा संलग्न भएका भनिएका अप्टिकल फाइबर, फोर जी लगायतका अन्य सम्भावित अनियमितताका योजनाको समेत सुक्ष्म निगरानी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

छाया सरकार सँगै छाया संसद र संसदीय समिति निर्माण गर्नुपर्ने आवाज समेत उठेको छ । सरकारले एकपछि अर्को विवादित विधेयक अगाडि बढाउन थालेको भन्दै त्यसको अध्ययन र सशक्त प्रतिवाद गर्नको लागि समेत छाया संसद र संसदीय समितीको आवश्यकता भएको कांग्रेस सांसदहरूको ठहर छ ।

Leave A Reply

Your email address will not be published.