भ्रष्टाचारीको प्रमुख नाइके केपी ओली नै हुन् : पूर्व प्रधानमन्त्री भट्टराई

0

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको बताएका छन् । पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वत पुगेका अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको आरोप लगाएका हुन्।

भट्टराईले निर्वतमान सञ्चारमन्त्री बाँस्कोटा प्रकरणले पनि प्रधानमन्त्री ओलीमाथि शंका उत्पन्न भएको बताए । उनले प्रधानमन्त्रीतर्फ संकेत गर्दै आकाशतिर फर्केर थुक्दा थुक आफ्नै मुखमा परेको भन्दै व्याङ्ग्य गरे ।

‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ । अस्ति ३ गते ममाथि औँला ठड्याउनुभयो । मतिर फर्केर आकाशतिर थुक्नुभयो । आफ्नै मुखमा पर्यो’ उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ । मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ । त्यसैले यो भन्दाबढी केही पनि भन्दिनँ ।’

प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकाले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको उनको दाबी छ ।‘प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहनुभएको छ । खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ’ डा भट्टराईले भने, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकाले यो मुद्दा गम्भीर रूपमा आएको छ ।

दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो । थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने ?’ प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको तर पछिल्ला केही दिनमा पापको घैँटो भने फुटेको बताए ।

वर्तमान नेकपा र कांग्रेस दुवै दलमा रहेका कतिपय राम्रा मान्छे रहेका तर उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवी आफ्नो पार्टीमा आउनु उपयुक्त हुने भट्टराईको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.