आज मन्त्रिपरिषद् पुनर्गठन : शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्दै , ३ बजे शपथ

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । सरकारको काम प्रभावकारी, जनमुखी तथा नतिजामुखी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए । त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टीका नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।
त्यसपछि उनले आफ्नो अभिव्यक्तिका कारण विवादमा आएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीले सोमबार साँझसम्म बनाएको यथावत् रहने मन्त्रीको सूची अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, स्वास्थमन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, भूमिसुधार मन्त्री पद्मा अर्याललगायतका मन्त्रीहरूले निरन्तरता पाउने छन् । त्यस्तै घनश्याम भुसाल, लेखराज भट्ट, पार्वत गुरुङ र हृदयश त्रिपाठी लगायतका मन्त्रीहरु यथावत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.