दिल्ली विधान सभा निर्वाचन : ‘आप’लाई दुई तिहाई सिट हासिल हुने प्रक्षेपण

0

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार (२५ माघ) सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । दिनको पाँच बजेसम्म जम्मा ४४ प्रतिशत मत खसेको जानकारी गराइए पनि त्यसपछि मतदानमा उल्लेख्य सहभागिता बढेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

दिल्लीको शहरी क्षेत्रमा आफ्नो काम सकेर मतदानमा सहभागी हुन मतदाता पुगेका मतदान केन्द्रमा खटिएका अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान गर्न शनिबार साँझ ६ बजे मतदान केन्द्रमा पुगी लाइनमा बसेका मतदातालाई अवसर दिइएको थियो । दिल्ली विधानसभाका लागि सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त रनबिर सिंले जानकारी दिए ।

दिल्ली विधान सभाका लागि हुने शनिबारको मतदानका लागि एक करोड ४० लाख मतदाता रहेका, जसमा ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिलाका साथै ८६९ तेस्रो लिङ्गी मतदाता रहेका त्यहाँको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मतदानका लागि १३ हजार ५७१ मतदान केन्द्र रहेको दिल्लीमा करिब तीन हजार मतदानका हिसाबले संवेदनशिल र १४४ अति संवेदनशील केन्द्र रहेका भन्दै ती स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

दिल्लीमा यस पटकको चुनावका लागि कूल ६७२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । ऐतिहासिक सफलतासहित आम आदमी ‘आप’ पार्टीका नेता अरविन्द केजरिवालको नेतृत्वमा बनेको दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिँदैछ । नयाँ सरकारमा फेरि केजरिवालले मौका पाउने छन् कि अन्य पार्टीको भाग्य खुल्नेछ भन्ने कुराको फैसलाको मापक मानिएको शनिबारको मतदानले केजरीवालकै पार्टीलाई विजयी तुल्याउने प्रक्षेपण गरिएको छ ।

शनिबार सार्वजनिक अधिकांश ‘एक्जिट पोल’अनुसार दिल्लीको सत्ताधारी दल आम आदमी पार्टीले दुई तिहाइ ल्याउने प्रक्षेपण भएको छ । त्यस्तै केन्द्र सरकारको नेतृत्व गरेको भाजपा दोस्रो स्थानसहित अघिल्लो चुनावमा भन्दा सुधारिएको नतिजा ल्याउने बताइएको छ ।

दिल्लीमा यसपाली पनि लामो समय सत्तामा बसेर कृही वर्ष पहिले बाहिरिएको भारतीय कङ्ग्रेसले निकै थोरै सीट ल्याउने अनुमान गरिएको छ ।

द टाइम्स नाओ–इपसोसले दिल्लीमा आपको ४७ र भाजपाको २३ सीट आउने र बाँकी अन्य दलले जित्ने अनुमान गरिएको एएनआईसम्प्रेषित समाचारमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.