न्याय माग्दै गंगामाया राष्ट्रसंघ मुख्यालयमा, न्याय प्रक्रिया सुधार गर्न युएनको जोड

0

काठमाण्डौं – सरकारले न्याय नदिएको भन्दै न्यायको लागि अनशनरत गंगामाया अधिकारीले नेपाल स्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुल्चोक पुगेर न्यायका लागि सहयोग गर्न आग्रह गरेकी छन ।

अनशनरत अधिकारीले आज (मंगलबार) नेपाल स्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्ड सँग भेट गर्दै राज्यले आफू र आफ्नो परिवारलाई राज्यले न्याय दिन नसकेको भन्दै सके न्याय दिलाउन सहयोग गर्न नसके आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह समेत गरिन ।

संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थित आवासीय प्रतिनिधि जुलियाण्डले अधिकारीले न्याय पाउन नसकेको बिषयमा जानकार रहेको उल्लेख गर्दै अधिकारीको मागको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै नेपाल सरकारले संक्रमणकालीन न्याय प्रक्रिया नै परिमार्जन गरी पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिईन ।

नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि नबढेको उल्लेख गर्दै संक्रमणकालीन न्यायको विषय संयुक्त राष्ट्रसंघको विश्वव्यापी आवाधिक समिक्षामा पनि उठ्ने जानकारी दिंदै प्रक्रिया परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिइन ।

विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको कारणले पनि त्यसको परिपालन कार्यान्वयन गरे नगरेको कुराको निरीक्षण संयुक्त राष्ट्रसंघले गर्ने उनको भनाइ छ ।

जुलियाण्ड सँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अधिकारीले सरकारले आफूलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायको अपिल गर्न बाध्य भएको बताइन् । उनले न्याय नपाउँदासम्म लडिरहने बताइन् । उनले ८/९ वर्षसम्म पनि आफूलाई सरकारले न्यायका नदिएकोमा असन्तुष्टी जनाइन् ।

अधिकारीले तात्कालीन सशस्त्र द्वन्द्वकालमा २०६१ सालमा हत्या गरिएका भनिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आएकी छन् । अधिकारीका श्रीमान नन्दप्रसाद अधिकारीको आमरण अनशनकै क्रममा २०७१ असोजमा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.