एमसीसी विवाद : रावल डुब्लान कि ओली ?

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई लिएर ठूलो विवाद छ । भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा समेत एमसीसी कुनै ठोस एजेन्डा नभएको भएपनि पार्टीका अधिकांश केन्द्रीय सदस्यले एमसीसी बैठकको एजेन्डा नराखेकोमा आपत्ति जनाउँदै एमसीसीमा थप अध्ययन गर्न नेतृत्वलाई दबाब दिएपछि नेकपा नेतृत्वले पनि केन्द्रीय सदस्यहरूको माग बमोजिम एमसीसीबारे आवश्यक अध्ययन गर्न भन्दै पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय कार्यदल बनाउन बाध्य भयो ।

हिजो (सोमबार) उक्त उच्चस्तरीय कार्यदलको पहिलो बैठक समेत बस्यो भने बैठकले एमसीसी सम्बन्धि सम्पूर्ण दस्तावेजहरूको अध्ययन गर्ने निष्कर्ष निकाल्यो । एमसीसी सम्बन्धि सम्पूर्ण दस्तावेजहरूको अध्ययनपछि लिखित सुझाव पेश गर्ने कार्यदलले निष्कर्ष निकालेको कुरा सार्वजनिक भएको छ ।

एमसीसी सम्बन्धि अध्ययन गर्न गठित कार्यदललाई लिएर भने आम जनमानसमा पनि चासो बढेको छ । उक्त कार्यदलको नेतृत्व एमसीसी प्रती अनुदार रहेका झलनाथ खनालको नेतृत्वमा बन्नु र कार्यदलका २ सदस्य मध्य एक पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावल एमसीसीको विरोध गर्ने मध्यका सबैभन्दा आक्रमक र हाईप्रोफाईल नेता हुन् भने अर्का सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एमसीसीको विरोधको स्वर सुन्नै चाँहादैनन । यसकारण पनि सत्तारूढ नेकपाको पछिल्लो शक्ति सन्तुलनको पहिलो असर एमसीसीमा परेको बताइन्छ । अर्थात एमसीसीको पक्षमा वकालत गर्दै आएको प्रधानमन्त्री केपी शर्मा ओली समूह अल्पमतमा परेको देखिन्छ ।

यो कार्यदलमा पूर्व प्रधानमन्त्री खनालको महत्त्वपूर्ण भूमिका देखिन्छ । एक कट्टर एमसीसी विरोधी अनि एक कट्टर समर्थलाई समान धारणामा ल्याउन मात्रै हैन एमसीसी सम्बन्धि उठेका केही प्रश्नको चित्तबुझ्दो जवाफ दिने दायित्व पनि उनकै काँधमा आइपुगेको छ । खनाल त्यस्ता नेता वा पूर्व प्रधानमन्त्री पनि जसको एमाएएसी सम्बन्धमा कुनै साइनो छैन ।

नत्र समाजवादीका ‘डि जुरे’ अध्यक्ष बाबुराम भट्टराई, मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइराला, पुष्पकमल दाहाल “प्रचण्ड” शेरबहादुर देउवा हुँदै वर्तमान प्रधानमन्त्री ओली समेत विगत देखि कुनै न कुनै रूपमा एमसीसी सम्बन्धि कुरामा जोडिएका देखिन्छन् । यसकारण पनि खनालको भूमिका महत्त्वपूर्ण मानिएको छ ।

उच्चस्तरीय कार्यदलका सदस्य सदस्य समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले त मंगलबार गुल्मी पुगेर एमसीसीको फुलफर्म थाहा नभएकाहरूले एमसीसीको विरोध गरिरहेको भन्दै आक्रोश पोख्न भ्याए । एमसीसीक फुलफर्म नजान्नेमा उनी सम्मीलित कार्यदलकै सदस्य रावल पर्छन पर्दैनन् त्यो उनैले जान्ने कुरा हो । तर एमसीसीलाई लिएर जनमत समेत विभाजित बन्न पुगेको तथ्यलाई नजरअन्दाज गर्न सकिन्न । एउटा समूह त अहिले एमसीसी विरुद्ध हस्ताक्षर अभियान चलाउन तल्लीन देखिएको छ । सत्तारूढ पार्टीकै शिर्षनेतारू बाट परस्पर विरोधी अभिव्यक्ति आउँदा जनमानसमा भ्रम पर्नु कुन नौलो कुरा भयो र ?

नेपालमा एमसीसी सम्बन्धि विवाद चर्किरहेको बेला एमसीसी सम्बन्धि विवाद निरुपणको लागि भन्दै अमेरिकी उपसहायक विदेशमन्त्री जोनाथन हेनिक नेपाल आइपुगेका छन् । उनी नेपाल आएसँगै थप अर्को तरंगको सिर्जना हुन पुगेको छ । आजै मात्र नेपाल आइपुगेका विदेशमन्त्री हेनिकको भ्रमण तालिका गोप्य राखिएको छ भने उनले एससीसीको विरोध गरिरहेका सत्तारूढ दलका प्रभावशाली नेताहरूलाई समेत भेट्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको पालामा उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका नेता रावल कुनै समय अमेरिकी एजेन्सीका ‘क्लोज कन्ट्याक्ट् पर्सन’ रहेको विश्वभरका गोप्य र महत्त्वपूर्ण दस्तावेजहरू सार्वजनिक गर्दै आएको विकिलिक्सले यसअघि नै सार्वजनिक गरिसके तथ्य हो ।

२००९ को जुन १८ मा लेखिएको एक पत्रमा नेपाल स्थित अमेरिकी दूतावासले नै लेखेको पत्र सार्वजनिक भै सकेको अवस्थामा रावलको राष्ट्रवाद कति सक्कली र कति नक्कली भन्ने कुराको प्रशन् पनि उठेको छ । नेपाल स्थित अमेरिकी दूतावासले यस क्षेत्रमा रहेका अमेरिकी नियोग सहित अमेरिकी प्यासिफिक कमान्डलाई पठाएको पत्रमा यस्तो खुलासा गरिएको छ ।

तर एमसीसी सम्बन्धि पछिल्लो विवादले एमसीसी पासहुँदा यसको विरोधीको छवि बनाएका रावललाई डुबाउन सक्छ भने एमसीसी फेल हुँदा प्रधानमन्त्री ओलीको राजनैतिक करियर डुब्न पनि समय लाग्नेछैन । एमसीसीको बिषयमा जहिल्यै प्रतिरक्षात्मक र आक्रमक विरोधमा अगाडि देखिएका यी पात्रको मात्रै होइन यसले नेपाल अमेरिका सम्बन्धलाई असर गर्ने केही विश्लेषकको बुझाई छ ।

पछिल्ला दिनमा सरकारको विश्वसनीयता माथि प्रश्र उठिरहेको समयमा एमसीसीको विवाद आएकाले पनि नागरिक तहमै पनि एमसीसीलाई लिएर निकै चासो बढेको छ । पछिल्लो समय चीन निकट देखिएका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओली विरुद्धको हतियारको रूपमा एनसीसीलाई प्रयोग गर्न खोजेका कारण दुई देशबीचको सम्बन्धमा असर मात्रै परेको छैन धमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई समेत ठूलो अवसर प्रदान गरेको विश्लेषण गरिदैंछ । जे होस एमसीसीले सत्तारूढ दलका प्रभावशाली नेतालाई डुबाउँछ वा प्रधानमन्त्रीलाई नै त्यो हेर्न भने कम्तीमा केही दिन कुर्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.