कोरोनाभाइरस: हङ्‌कङका अस्पतालमा हडताल, चीनसँगको सीमा पूरै बन्द गर्न माग

0

कोरोनाभाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्‍कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन् ।

हङ्‌कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द गरिसकेको छ । तर स्वास्थ्यसेवाका कर्मचारीहरूले पूरै सीमा बन्द गर्नुपर्ने माग राखेका छन् ।

अधिकारीहरूले सीमा बन्द गर्नु विश्व स्वास्थ्य सङ्गठनको सुझावविपरीत हुने तर्क गरेका छन् ।

हङ्‌कङमा अहिलेसम्म १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाट फैलिएको उक्त महामारी अन्य देशमा पनि फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरिसकेको छ ।

“यदि सीमा पूरै बन्द भएन भने यो महामारीसँग सङ्घर्ष गर्न पर्याप्त जनशक्ति, सुरक्षा उपकरण वा आइसोलेशन (सङ्क्रमित व्यक्तलाई राख्न) कक्ष हुनेछैनन्,” अस्पतालका कर्मचारीहरूको नवगठित सङ्गठनकी अध्यक्ष विनी यूले भनिन् ।

सोमवार अत्यावश्यक सेवाबाहेकका सयौँ स्वास्थ्यकर्मीहरू उक्त आन्दोलनमा सहभागी भए । उक्त सङ्गठनका अनुसार मङ्गलवारसम्म आफ्नो माग पूरा नभए अत्यावश्यक सेवाका चिकित्सक र नर्सहरू पनि आन्दोलनमा सहभागी हुनेछन्  ।

हङ्‌कङको कुल जनसङ्ख्या ७० लाख छ। चीनको भाग भए पनि हङ्‌कङमा केही स्वायत्तता छ ।

हङ्‌कङ र चीनबीचको सीमा अन्य अन्तर्राष्ट्रिय सीमाजसरी नै सञ्चालित हुन्छ ।

चीनले यातायात बन्द गर्नुबाहेक हङ‍्‌कङ जाने यात्रीहरूलाई प्रवेशाज्ञा दिन पनि रोकेको छ ।

अहिलेसम्म चीनमा १७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसबाट सङ्क्रमण भएको पुष्टि भइसकेको छ । सोमवार बिहानसम्म सङ्क्रमण भएका ३६१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

चीनबाहिर अहिलेसम्म १५९ जना मानिस उक्त भाइरसबाट पीडित भएका र फिलिफिन्समा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

फिलिपिन्समा मृत्यु हुने व्यक्ति चीनको वुहानबाट गएका चिनियाँ नागरिक नै हुन् ।

Leave A Reply

Your email address will not be published.