दिनभरि सभामुखको ब्यस्तता, पहिलो भेट चिनियाँ राजदुत

0

काठमाण्डौं – नवनिर्वाचित सभामुख अग्नि सापकोटा सोमवार सपथ ग्रहण लगत्तै निकै ब्यस्त वने । उनले आफ्नो कार्यकक्षमा कार्यभार सम्हालेपछि केहि भेटघाटलाई अघि बढाए । उनको पहिलो भेट भयो चिनियाँ राजदुतसंग ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख सापकोटासँग भेटवार्ता गरिन् । सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी थिइन् । सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरेकी थिइन् । राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् । नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कुटनीतिक नियोगको पहिलो व्यक्ति बनेकी छिन् । सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।

सभामुख अग्नि सापकोटाले सपथग्रहण लगत्तै सिंहदरबारस्थित सभामुखको कार्यालयमा पदभार सम्हाले । सोमवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण गरेका सापकोटा सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालयभित्र सापकोटाले सपथ लिइरहँदा बाहिर भने केही व्यक्तिहरूले सापकोटाविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रहरीले विरोध प्रदर्शन गर्नेमध्ये केहीलाई नियन्त्रणमा लिएको छ । आइतवार प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले सापकोटालाई निर्विरोध सभामुख निर्वाचित गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।

सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच शक्तिसंघर्षको स्थिति पैदा भएपछि पुस ४ गते बोलाइएको संसद बैठक पटक(पटक स्थगित भएको थियो ।

दुवै अध्यक्षले आफूनिकट नेताहरूलाई सभामुख बनाउनुपर्ने अडान राखेका कारण लामो समयसम्म नेकपाले उम्मेदवार तय गर्न सकेको थिएन ।

प्रतिनिधिसभा सभामुखबिहीन भएको ४ महिनामा नयाँ सभामुख प्राप्त गरेको हो । प्रतिनिधि सभा सभामुखबिहीन हुँदा संसदको कार्यसूची प्रभावित भएको थियो ।

सभामुख र उपसभामुख फरक फरक दल र कम्तिमा एक जना महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण सभामुख निर्वाचन अघि नेकपाबाटै उपसभामुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपरेको थियो ।

सभामुखमा निर्वाचित भए लगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न हतारिएको भन्दै सापकोटा सामाजिक सञ्जालमा ट्रोलको शिकार भए ।

कतिपयले पार्टी्भित्र ठूलो रस्साकस्सीका बीच सभामुख बनेका सापकोटाको यो ‘दौड’ प्रधानमन्त्री रिझाउने प्रयासको रुपमा अर्थ्याए ।
सभामुख सापकोटाले भने आफूले प्रधानमन्त्रीबाट बधाई लिएर जिम्मेवारी सुरु गर्न चाहनु स्वाभाविक भएको सोमवार सवैलाई स्पष्ट पारिदिए । आज मैले सपथ गरेँ, आजबाट म पूर्ण रुपमा साझा भएँ । हिजोसम्म त मेरा लागि प्रधानमन्त्री मात्र होइन, सभामुख बनाउने पार्टीको अध्यक्ष पनि हो, दलको नेता पनि हो । त्यसकारण सदनमा त्यतिखेर (बधाई) प्रधानमन्त्रीबाट सुरु गर्न खोजेँ मैले’ उनले भनेका छन्, ‘यो एकदम स्वाभाविक छ । संसदीय मूल्य मान्यताअनुसार नै छ ।’

सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न हतार गर्नु नपर्ने धारणा राखे । आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोध र अदालतमा परेको मुद्दाबारे बोल्न मनासिव नहुने बताए । भोली मंगलवार दिनको १ वजे प्रतिनिधीसभाको वैठक वस्दैछ ।

Leave A Reply

Your email address will not be published.