उपसभामुख कांग्रेसलाई दिन प्रचण्ड सहमत !

0

काठमाण्डौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार चयन गरेसँगै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजिनामा दिईन । यो सँगै उपसभामुख पद अहिले रिक्त छ ।

लामो रस्साकस्सीका बिच सभामुखको उम्मेदवार टुंगो लगाएको नेकपाले उपसभामुख बारे कुनै आधिकारिक निर्णय गरिनसकेको अवस्थामा उपसभामुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिन सत्तारूढ दलका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएको खबर बाहिरिएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सँग आफ्नै निवास खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्ड कांग्रेसलाई उपसभामुख दिन सहमत भएको कुरा कांग्रेस नेता पौडेलको सचिवालयले जानकारी दिएको हो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा सहकार्य गरेको राष्ट्रिय जनता पार्टीलाई उपसभामुख सहित केही मन्त्री दिएर सरकारमा ल्याउने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको तयारी विपरीत प्रचण्डको अभिव्यक्ति आएको हो । आफ्नो अडान विपरीत अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन बाध्य बनेका प्रधानमन्त्री ओलीले प्रचण्डको यो सहमतिलाई कसरी लिन्छन् त्यो अनुसार नै आगामी उपसभामुख कुन दलबाट हुने हो त्यो प्रष्ट हुने छ ।

दुई नेता बिच भएको भेटमा उपसभामुखको निर्वाचन सहित संक्रमणकालीन न्यायलाई कसरी छिटो टुंग्याउन सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

यदि प्रचण्डको सहमति नेकपाले स्वीकार गरेमा उपसभामुख कांग्रेसले पाउने सम्भावना बढेको छ ।

Leave A Reply

Your email address will not be published.