काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरु आज बिहान ११ बजे पार्टी कार्यलय सानेपामा भेला हुँदै छ्न ।
भेलामा सहभागी हुन विभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाण्डौं आइसकेका छन । सभापति देउवाले बहुमतको आधारमा एकलौटी पेलेर जान खोजेकाले जिल्ला सभापतिहरु सँग छलफल गरेर आगामी रणनीति तय गर्ने असन्तुष्ट समुहको तयारी छ ।
संस्थापन पक्षलाई चुनौती दिनका लागि असन्तुष्ट पक्षले गर्न लागेको जिल्ला सभापतिहरुको भेलामा कम्तीमा ५२ जिल्लाका जिल्ला सभापतिहरुको सहभागीता हुने असन्तुष्ट पक्षका एक नेताले चारदिशलाई जानकारी दिए । यो भेलामा सिटौला पक्षका जिल्ला सभापतिहरुको पनि सहभागीताको अपेक्षा गरिएको छ ।
सभापति देउवाले बहुमतको बलमा १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै पदावधि थप गर्ने, विधानका दफाहरुको निलम्बन, विभागको संख्या थप, तरुण दलको तदर्थ समितिको म्याद थप लगायतका निर्णय गरेपछि कांग्रेस आन्तरिक विवादमा फसेको हो । पुस ११ गतेको बैठकबाट गरिएका सम्पुर्ण निर्णयहरु फिर्ता लिनुपर्ने असन्तुष्ट पक्षको माग छ ।
७७ जिल्लामध्ये ५२ भन्दा धेरै जिल्लाका सभापतिहरुले सहभागीताका लागि हस्ताक्षर नै गरेकाले पनि यो भेलाबाट सभापति देउवा थप दबाबमा पर्ने असन्तुष्ट पक्षको आकलन छ । सात प्रदेश मध्ये प्रदेश २ मा मात्रै देउवापक्ष बलियो रहेको देखिएको छ । यसले गर्दा पनि सभापति देउवामाथी थप दबाब थपिने देखिएको छ ।