बालुवाटार जग्गा प्रकरण : दिप बस्न्यात फरार

0

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात फरार भएका छन् । बालुवाटार जग्गा प्रकरणमा उनको नाम मुछिएको छ । सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्न्यातको बयान लिन खोजिरहेको छ ।

बालुवाटार जग्गा प्रकरणमा आयोगले बस्न्यातसँग बयान लिन खोजिरहेको स्रोतको दाबी छ । तर, उनी भने यतिवेला सम्पर्कमा छैनन् । बस्न्यातमात्रै नभएर यो प्रकरणमा जोडिएका सबै व्यक्तिसँग अख्तियारले बयान लिन खोजेको छ । विशेषतः अख्तियारले तत्कालीन भौतिक पूर्वाधारसचिव बस्न्यातसँग बयान लिनको लागि आफ्नो तर्फबाट सक्रियता बढाएको छ । तर, उनी भने आयोगको सम्पर्कमा आउनै नचाहेको स्रोतको दाबी छ ।

कतिसम्म भने बस्न्यातले बयान दिन अस्वीकार गर्दा अख्तियारले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी गरेको भनेर समेत एक दैनिक पत्रिकामा समाचार प्रकाशित भएको थियो । तर, पत्रिकामा उनको नाम नै किटान गरेर समाचार आएपछि त्यतिवेला उनी अख्तियार पुगेर आफ्नो बयान दिएका थिए ।

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरण २०६६ मा भएको थियो । त्यतिवेला माधव कुमार नेपाल प्रधानमन्त्री थिए । कांग्रेसका उपसभापति विजयकुमार गच्छदार त्यतिवेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा थिए । २९ चैत २०६६ को मन्त्रिपरिषद बैठकले नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको थियो ।

बस्न्यातलाई अहिले अख्तियारले खोजिरहेको छ । आजैभोलि बयान लिने तयारीका साथ आयोगले उनलाई खोजेको भएपनि उनी भने फरार रहेको स्रोतको दाबी छ ।

Leave A Reply

Your email address will not be published.