अमेरिकी सैन्य अखडामा इरानको रकेट आक्रमण, मस्जिदमा रातो झण्डा

0

मध्य पुर्व तनावग्रस्त

अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि आक्रोशित बनेको इरानले इराकको राजधानी बगदाद समेत कैयौं अमेरिकी सैन्य अखडामा रकेट आक्रमण भएको इराकी सेनाले जनाएको छ ।

यो सँगै निकै तनावमा रहने मध्य पुर्वको अवस्था अझै तनावग्रस्त बनेको छ । इरानको सटिक रकेट आक्रमणमा अमेरिकाको इराक स्थित दूतावास नजिकका ग्रीन जोन सहित अमेरिकी सुरक्षा बल रहेको बलाद एयरबेसमा यस खालको आक्रमणहरु भएको इराकी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।

यसखालका रकेट आक्रमणहरु यसअघि पनि हुने गरेको भएपनी इरानी सैन्य जनरल सुलेमानीको मृत्यु पछि भने रकेट आक्रमणको संख्या र निशानामा निकै परिवर्तन आएको इराकी सेनाले जनाएको छ । शनिबार इराकमा भएको विशाल प्रदर्शनमा पनि ‘डेथ टु अमेरिका’ भन्ने नारा पनि लगाईएको थियो । प्रदर्शनकारीहरुले जनरल सुलेमानी र इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनिको तस्बिर सहित प्रदर्शन गरेका थिए ।

उता इरानले भने आफ्ना सैन्य जनरलको मृत्यु भएपछि शनिबार बिहान नै जामकरन मस्जिदमाथी रातो झण्डा फहराएर युद्धको लागि देशभर एलर्ट जारी गरेको छ । तनावपूर्ण अवस्थामा जामकरन मस्जिदमाथी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनु’ वा ‘युद्ध सुरु भै सकेको’ सन्देशको रुपमा बुझिन्छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मस्जिदमा रातो झण्डा फहराईएको इरानको इतिहासमै पहिलोपटक हो । यसले पनि इरान अमेरिकासँग युद्धको अन्तिम तयारीमा रहेको रूपमा बुझ्नुपर्ने जानकारहरुको भनाई छ ।

इरानको कोम स्थित जामकरन मस्जिदको माथी सधैं धार्मिक झण्डा फहराइन्थ्यो अहिले भने त्यहाँका सबै धार्मिक झण्डा हटाइएको छ । यसलाई युद्धको घोषणाकै रूपमा लिइएको छ किनभने रातो झण्डाको अर्थ शोक वा दु:ख जनाउनु नभएर खतरा वा संकटको प्रतीक हो । यसरी इरानले सम्पुर्ण देशवासीलाई युद्धको स्थितको लागी तयार रहन सार्वजनिक अपिल गरेको अर्थमा बुझिएको छ । यसअघि इरान इराक युद्धमा समेत यसरी मस्जिदमा रातो झण्डा फहराइएको थिएन । इतिहासमा हुसैन साहबले कर्बला युद्धको समयमा मस्जिदमाथी रातो झण्डा फहराएका थिए ।

अहिलेको अवस्थामा सुलेमानी देशको लागि शहादत दिएको र यसको बदलाको लागि देशवासीलाई तयार गर्न पनि यो झण्डाको प्रयोग गरिएको विश्लेषक हरुको मत छ । जामकरन मस्जिद इरानको सबैभन्दा पवित्र मस्जिद मानिन्छ र इरानी युवाहरूमा समेत जामकरन मस्जिदको ठूलो प्रभाव छ ।

इराकस्थित अमेरिकी दूतावास सहित अमेरिकी सैन्य अखडामा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी दूतावास सहित अन्य क्षेत्रमा कुनै क्षति भए इरानले ‘ठूलो मुल्य’ चुकाउनुपर्ने अभिव्यक्ति दिएका छन । यसले पनि इरान अमेरिका कुनै पनि बेला युद्धको स्थितिमा पुग्नसक्ने विश्लेषण गरिदैंछ ।

इरानले भने अमेरिकी आरोपको प्रतिवाद गर्दै त्यस्तो दावी गर्ने अमेरिकी धृष्टताको कडा शब्दमा निन्दा गरेको छ । अमेरिकाले आफ्ना सैन्य जनरलको हत्याको बदला लिने भने यसअघि नै सार्वजनिक चेतावनी इरानले जारी गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.