नाटकीय शैलीमा भाग्न सफल निसानका पूर्वप्रमुखविरूद्ध इन्टरपोलको रेड कर्नर नोटिस

0

बीबीसी – नाटकीय शैलीमा जापानबाट भागेर लेबनन पुगेका कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।

उक्त नोटीस लेबननका आन्तरिक सुरक्षा निकायले बिहीबार बुझे पनि त्यसबारे न्यायालयसँग परामर्श भने नलिइएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

जापानमा आर्थिक हिनामिनासम्बन्धी मुद्दा खेपिरहेका गोन सन् २०२० को सुरुवातको पूर्वसन्ध्यामा बेरुत पुगेका थिए ।

गोन सवार निजी विमान पहिले इस्तानबुलमा अवतरण गरेको बताइएको छ। यसकारण टर्कीले समेत अनुसन्धान अघि बढाएको छ ।

टर्कीका सञ्चारमाध्यामहरूका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा हालसम्म सात जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा चार जना पाइलट, ढुवानी सेवा दिने कम्पनीका एक जना म्यानेजर र विमानस्थलमा काम गर्ने दुई कामदार छन् ।

इन्टरपोलले जारी गर्ने “रेड कर्नर नोटीस” विश्वभरका प्रहरीलाई विभिन्न आरोप खेपिरहेका व्यक्तिहरूलाई अस्थायी रूपमा पक्राउ गर्न वा उनीहरूलाई आत्मसमर्पण गर्नका लागि गरिने अनुरोध हो ।

तर लेबनन र जापानबीच सुपुर्दगी सन्धि छैन ।

गोनसँग फ्रान्स, लेबनन र ब्रजिलको नागरिकता छ। उनले लेबननको बैङ्किङ तथा घरजग्गा व्यवसायमा लगानी गरेका छन् ।

फ्रान्सले आफ्नो भूमिमा उनले प्रवेश गरे उनलाई सुपुर्दगी नगर्ने बताएको छ ।

जमानतका लागि जापानमा गत एप्रिलमा गोनले एक अर्ब येन तिरेका थिए । लेबनन पुगेपछि उनले आफू “अन्याय र राजनीतिक उत्पीडनबाट उम्केको” बताएका थिए ।

जापानबाट भाग्न उनको पत्नीले सहयोग गरेको भन्ने अनुमानसहितका विवरणहरूकाबीच गोनले आफ्नी पत्नीको संलग्नता रहेको भन्ने कुरा “गलत” रहेको बताएका छन् ।

उनले भनेका छन् – “म एक्लैले मेरो प्रस्थानको चाँजोपाँजोको व्यवस्था गरेको हुँ।”

यसैबीच लेबननका दुई वकिलले गोनले सन् २००८को ज्यानुअरीमा इजरेल भ्रमण गरेको भन्दै उनीविरुद्ध उजुरी दिएको न्याश्नल न्यूज एजेन्सीले जनाएको छ ।

लेबननको असहज सम्बन्ध रहेको इजरेलमा लेबननीलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

अनुसन्धानको पछिल्लो अवस्था ?

टर्कीका सञ्चारमाध्यमका अनुसार गोनको निजी विमान गत सोमबार इस्तानबुलमा स्थानीय समय अनुसार बिहान साढे ५ बजे अवतरण भएको थियो ।

त्यो विमान जापानको ओसाकाबाट उडेको थियो ।

टर्कीको एउटा समाचार वेबसाइटले त्यहाँको आन्तरिक मामिला हेर्ने मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार सीमा प्रहरीलाई गोन त्यो विमानमा रहेको जानकारी नदिइएको र उनी टर्कीमा प्रवेश गरेको वा बाहिरिएको विवरण दर्ता नगरिएको बताएको छ ।

फ्रान्सेली कार निर्माता कम्पनी रेनोका समेत प्रमुख रहिसकेका गोनमाथि फ्रान्समा अनुसन्धान गरिए पनि उनीमाथि कुनै आरोप लगाइएको छैन ।

गोनसँग रहेका ब्राजिल, फ्रान्स र लेबननको राहदानी जापानमा बुझाइएको थियो। कानुनी टोलीका अनुसार ती राहदानी उनीहरूसँगै छ ।

सञ्चारमाध्यमहरूका अनुसार जापान भित्रै भ्रमण गर्दा आफ्नो पहिचान देखाउन कानुनी रूपमै उनीसँग चौथो राहदानी रहेको हुनसक्ने सम्भावना छ।

गोनले जापानबाट भाग्न राहदानीको प्रयोग गरेको देखिँदैन जसकारण त्यहाँका अनुसन्धानकर्ताहरूको बुझाइमा उनले गैरकानुनी बाटो रोजेका हुन् ।

Leave A Reply

Your email address will not be published.