‘उखु किसानको बक्यौता दिन सुरु भै सक्यो, माघ पहिलो हप्तासम्म दिलाईसक्ने’ वाणिज्य मन्त्री

0

काठमाण्डौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानको बक्यौता रकम उखु उद्योगका संचालकहरुले दिन सुरु भईसकेको जानकारी दिदैं माघ पहिलो साताभित्र सबै बक्यौता रकमको भुक्तानी दिलाई छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले माइतीघरमा प्रदर्शनरत किसानहरुको समस्या र त्यसको समाधानको बारेमा सदनमा राखेका जिज्ञासाको जवाफ दिदैं मन्त्री भट्टले उक्त प्रतिबद्धता जनाएका हुन । सांसदहरूको जिज्ञासाको जवाफ दिदैं मन्त्री भट्टले भने – ‘चिनी मिल्स सञ्चालकहरुलाई मन्त्रालयले सम्पर्कमा ल्याईरहेको छ, आन्दोलनमा उत्रिएका मध्य केहिले भुक्तानी पाईसकेका छन, केही पाउने क्रममै छन् ।’ उनले भने ।

मन्त्री भट्टले सुगर मिल सञ्चालक हरुले किसानको बक्यौता रकम दिन तयार रहेको र पैसा नहुने मिलले अचल सम्पत्ति बेचेर भएपनी तिर्ने प्रतिबद्धता जनाएको संसदलाई जानकारी दिएका थिए ।

उखु खेती गरिरहेका तराईका अधिकांश किसानले लामो समयदेखि भुक्तानी नपाएपछि दुई हप्तादेखी माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका छन । किसानको १अर्ब तिस करोड भन्दा धेरै रकम उद्योगीहरुले भुक्तानी गर्न बाँकी छ ।

यस्तै सरकारले अनुदान स्वरुप उखु किसानलाई उपलब्ध गराउनुपर्ने १ अर्ब ३४ करोड मध्य १ अर्ब रकम अर्थमन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा निकासा गरिसकेको र बिचौलियाले चलखेल नगरुन भनेर सम्बन्धित जिल्ला प्रशासन कार्यलय मार्फत किसानको खातामै अनुदानको रकम पठाउने काम समेत अगाडि बढेको मन्त्री भट्टले उल्लेख गरे ।

लिखित प्रतिबद्धता नआएसम्म उखु किसानको आन्दोलन यथावत रहने

आन्दोलनरत उखु किसानहरूले भने उखु मिल सञ्चालकहरुले आगामी माघ ७ गते भित्र भुक्तानी दिन लगाउने सरकारको प्रतिबद्धता लिखित रुपमा नाअएसम्म आन्दोलन यथावत रहने जनाएका छन ।

सरकारले हिजो (बुधबार) आन्दोलनरत उखु किसानका प्रतिनिधिहरु सँगको अनौपचारिक वार्तामा माघको पहिलो साताभित्र किसानहरुको बाँकी रहेको बक्यौता रकम भुक्तान गर्ने मौखिक प्रतिबद्धता जनाएको थियो । यता आन्दोलनरत किसानहरूले भने पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साता भित्र बाँकी रहेको २० प्रतिशत भुक्तानी दिने सरकारको प्रतिबद्धता लिखित रुपमा आउनुपर्ने माग गरेका छन ।

यसअघि सरकार र किसान बिच यस्ता अनौपचारिक सम्झौता भएपनी कार्यान्वयनमा नआएको उनिहरुको ठहर छ । त्यसैकारण सरकारले लिखित प्रतिबद्धता गर्नुपर्ने उनिहरुको अडान छ । माघ ७ गतेभित्र सम्पूर्ण रकम भुक्तानी नभए देशव्यापी आन्दोलन गर्ने किसानहरूले चेतावनी समेत दिएका छन ।

हिजो (बुधबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आन्दोलनरत किसान अगुवाहरुसँग अनौपचारिक वार्ता गर्दै माघ ७ गतेभित्र सबै रकम उद्योगीहरुले भुक्तानी दिने भन्दै आन्दोलनरत किसानहरुलाई आश्वासन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.