जापान सरकारको आँखा छलेर कसरी भागे निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोन

0

बीबीसी – जापानमा कार निर्माण गर्ने उद्योगमा कुनै बेला उनको हैसियत नायकको जस्तै थियो । त्यसपछि उनलाई सन्दिग्ध अपराधी मानियो । अहिले उनी अन्तर्राष्ट्रिय भगौडा भएका छन् ।

कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख तथा धनाढ्य कार्लोस गोनले आर्थिक हिनामिनासम्बन्धी मुद्दा खेप्ने प्रतीक्षामा कैयौँ महिना बिताए ।

कम्तीमा त्यही कुराले जापानी अधिकारीहरूलाई उनी भाग्दैनन् भन्नेमा विश्वस्त बनायो ।

गत एप्रिलमा जमानतमा रिहा हुन उनले एक अर्ब जापानी येन पनि तिरे  ।

के भन्छन् गोन ?

टोकियोस्थित उनको निवासवरपर जडित क्यामेरामार्फत्‌ गोनको चौबीसै घण्टा निगरानी हुन्थ्यो ।

प्रविधिको प्रयोग गर्न उनीमाथि निकै प्रतिबन्ध लगाइएको थियो र विदेश भ्रमणमा जान रोक लगाइएको थियो ।

त्यसपछिको एउटा कदमबाट जापान लज्जित हुनुपर्‍यो भने गोनका वकिलहरूको टोली पनि आश्चर्यमा पर्‍यो । नयाँ वर्षको पूर्वसन्ध्यामा उनी अकस्मात् लेबननमा देखिए ।

एउटा वक्तव्यमा उनले भने, “म अन्याय र राजनीतिक दमनबाट उम्किएको छु ।”

उनले जापानमा आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै आएका थिए ।

यसअघि एक स्रोतलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जापानमा निष्पक्ष सुनुवाइ नहुने डरले गोन टोकियोबाट भागेको उल्लेख गरेको थियो ।

गोनकी पत्नीले आफूहरूलाई “धम्काउन तथा होच्याउन” खोजेको गत जुन महिना बीबीसीलाई बताएकी थिइन्। उनका वकिलहरूले जापान सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् र अभियोजनकर्ताहरूले अघि सारेको मुद्दाको राजनीतिक अभिप्राय रहेको दाबी गरेका थिए ।

“हामी एकदमै आश्चर्यचकित भएका छौँ । म त निःशब्द भएको छु,” गोन लेबनन पुगेको खबर पाएलगत्तै टोकियोमा गोनका वकिल जुनिचिरो हिरोनाकाले पत्रकारहरूलाई भने ।

“हामी सोध्न चाहन्छौँ – तपाईँ कसरी यस्तो गर्न सक्नुहुन्छ?” हिरोनाकाले भने ।

अर्को एउटा प्रश्न पनि उठको छ – गोनले त्यसो गर्न कसरी सम्भव भयो ?

उनी कसरी भागे ? 

लेबननको टेलिभिजन च्यानल एमटीभीका अनुसार गोन टोकियोस्थित निवासबाट एउटा साङ्गीतिक समूहमा भेष बदलेर सम्मिलित एउटा अर्धसैनिक समूहको सहयोगमा भागेका हुन् ।

सो टेलिभिजनका गोनको निवासमा साङ्गितिक कार्यक्रम प्रस्तुत गरेको थियो र त्यो सकिनासाथ वाद्यवादनका सामान राख्ने खोलमा ६५ वर्षीय गोन लुके। ती सामानलाई एउटा स्थानीय विमानस्थल पुर्‍याइयो र विदेश लगियो ।

यदि साँच्चै त्यसो भएको थियो भने साँढे पाँच फूट अग्ला गोनलाई वाद्यवादनका सामानबीच लुक्नै निकै गाह्रो भएको हुनुपर्छ  ।

एमटीभीका अनुसार त्यसपछि गोन टर्की पुगे र त्यहाँबाट एउटा निजी विमानमार्फत्‌ लेबनन गए ।

एमटीभीले त्यसबारे कुनै प्रमाण दिएको छैन। तर अपेक्षा गरिएझैँ सामाजिक सञ्जालमा यो कुरा तीव्र गतिमा फैलियो ।

यद्यपि गोनकी श्रीमती कारोलले उनी त्यसरी भागेको कुरा काल्पनिक भएको समाचारसंस्था रोएटर्सलाई बताइन् ।

आफ्ना श्रीमान् जापानबाट कसरी भागे भन्नेबारे चाहिँ उनले विवरण दिइनन् ।

कसरी बन्यो होला भाग्ने योजना ?

हुन त जासुसी चलचित्रमा जस्तै भेष बदल्ने कुरा गोनका लागि कुनै नौलो काम होइन ।

गत मार्चमा उनी पत्रकारहरूको नजरबाट जोगिन निर्माणक्षेत्रमा काम गर्ने मानिसहको भेषधारण गरेर जेलबाट निस्किएका थिए ।

तर तत्कालै उनी चिनिए र सञ्चारमाध्यममा उनको खिल्ली उडाइयो। गोनका वकिलले त्यो “परिपक्व योजना” का लागि क्षमायाचना पनि गरे ।

सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार निसानका पूर्वप्रमुख कार्यकारी अधिकृत गोनले टोकियोबाट भागेर बेरुत पुग्ने योजना कैयौँ हप्ता वा महिनादेखि बनाएको हुन सक्छ ।

नाम उल्लेख नगरिएका थुप्रै स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएअनुसार भाग्ने योजना कार्यान्वयन गर्न एउटा टोली सावधानीपूर्वक काम गरेको थियो ।

लेबनन पुग्न गोनले प्रयोग गरेका कागजपत्रबारे कति प्रश्न अनुत्तरित छन् ।

उनीसँग ब्रजिल, फ्रान्स र लेबनन गरी तीन देशका पासपोर्ट छन् ।

तर उनको कानुनी समूहका अनुसार ती सबै पासपोर्ट जापान सरकारको नियन्त्रणमा थियो ।

Leave A Reply

Your email address will not be published.