खशोग्जी हत्याकाण्डमा संलग्न भएको आरोपमा साउदी अदालतले ५ जनालाई मृत्युदण्डको फैसला

0

बीबीसी – साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन् ।

सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

साउदी अरबले सुरुमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।

ठूलो अन्तर्राष्ट्रिय दबावपछि खशोग्जीको हत्यामा साउदी राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्टहरूले गरेको’ आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका थिए ।

को हुन् जमाल खशोग्जी ?

खशोग्जी एक चर्चित पत्रकार थिए । उनले अफगानिस्तानमा सोभियत सङ्घको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचारसंस्थाका लागि समाचार लेखे ।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे ।

तर पछि उनको राजपरिवारसँग सम्बन्ध बिग्रियो र उनी अमेरिका निर्वासनमा गए ।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले । त्यसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे ।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.