नेकपाका नेतासँग विवाद हुँदा पत्रकार शर्मामाथि आक्रमण

0

काठमाण्डौं – बाँकेमा कार्यरत पत्रकार संगीन शर्मामाथि आइतबार आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि सांघातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिए ।

आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ति युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा सञ्चालित युगयान दैनिकको कार्यालयमा आपसी विवाद भइरहेको समयमा नेता विश्वकर्माले युवा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए ।

नेता विश्वकर्मासमेत नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य हुन् । नेता विश्वकर्माले भने आफूले कुटपिटका लागि युवा बोलाएको नभई आफ्नो कार्यालयमा पत्रकार शर्माले होहल्ला गरिरहेकाले उक्त घटना भएको जिकिर गरेका छन् । ‘मेरो कार्यालयमा आएर अनावश्यक होहल्ला गरेका कारण तह लगाउन इलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको थिएँ,’ पत्रिकाका प्रकाशकसमेत रहेका नेता विश्वकर्माले भने, ‘सोही बखत मलाई भेट्न कार्यालयमा आएका गाउँका युवासँग पनि शर्माको विवाद भएपछि घटना भएको हो ।’

विगतमा विश्वकर्माकै पत्रिकामा कार्यरत पत्रकार शर्मा हाल कोहलपुरस्थित काँचुली खबर अनलाइनमा कार्यकारी सम्पादक रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले दुवैजनालाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेर छलफल गराएको छ । कुटपिटमा संलग्न दुईजना भने फरार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.