कांग्रेसमा रामचन्द्रको बखेडा, गरे जिल्ला सभापतिहरूको गुटको भेला आह्वान

0

काठमाण्डौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको छ । पौडेल समूहका १७ जिल्ला सभापतिहरूको काठमाडौंमा आइतबार बसेको गोप्य बैठकले माघ महिनामा सभापतिहरूको भेला गर्ने निर्णय गरेको हो । पौडेल समूहका जिल्ला सभापतिहरूको भेलामा नेता कृष्णप्रसाद सिटौला समूहका सभापतिहरूको पनि उपस्थिति रहेको थियो ।

१४औँ महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबण्डालाई लिएर पार्टीभित्र पौडेल सामूहले बखेडा निकालेर केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरिरहेका बेला जिल्ला सभापतिहरूको भेला माघमा गर्ने निर्णय भएको छ । नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको बताएका छन् ।

पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको जनाइ छ । आइतबारको बैठकमा सहभागी काभ्रे, नुवाकोट, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, सिन्धुपाल्चोक, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिहरूले भागबण्डा दिने र माग्ने काम बन्द गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई अपील गरेका छन् ।

‘पार्टीभित्र भाग खोज्न हुन्न, दिन पनि हुन्न’, काभ्रे कांग्रेसका सभापति आचार्यले भने, ‘योग्य र क्षमताका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो ।’ सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ । देउवाले गत मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा विधानको संख्या थपेर गठन गर्ने एजेन्डा प्रस्तुत गरेका छन् ।

आवश्यक देखिएमा विधानको संख्या केन्द्रीय कार्यसमितिको बहुमतबाट बढाउन सकिने भएपनि विभाग गठन विधानविपरीत हुन्छ । एक वर्षअघि महासमिति बैठकले संशोधन गरेको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने व्यवस्था छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिने बेलामा विभाग गठनको एजेण्डा अघि सारेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन २०७७ फागुनभित्र, पुस १० गते केन्द्रीय समिति

मूख्य विपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनभित्र गर्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षविचको विवाद हल गर्ने जिम्मेवारी पाएका नेताहरुको मध्यस्ततामा भएको छलफलमा यस्तो सहमति भएको हो । दुवै पक्ष २०७७ फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा पुगेका छन् ।

विवाद हल गर्ने जिम्मेवारी पाएका वार्ता समितिका संयोजक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अर्को वर्ष फागुनसम्म महाधिवेशन गरिसक्ने गरी अघि बढ्ने सहमति भएको हो । सभापति शेरबहादुर देउवाले निधि र बरिष्ठ नेता पौडेलले सिंहलाई विवाद समाधानका लागि वार्ता गर्ने जिम्मेवारी दिएपछि पटकपटक वार्ता भए पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको थिएन । सिंह निवास चाक्सीबारीमा आइतबार भएको नेताहरुको बैठकमा भने अर्कोबर्षको फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा बनेको नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

यसअघि सभापति देउवा अहिले नै महाधिवेशनको कार्यतालिका जारी गर्ने पक्षमा नदेखिएपछि पौडेलले लगातार पाँच दिन केन्द्रीय समिति बैठक बहिष्कार गरेर दवाव दिएका थिए । देउवा पक्षपनि महाधिवेशन गर्न सहमत भएको तर पौडेल पक्षले मंसिरमै हुनुपर्छ भन्ने पक्षमा रहेका छन् । सभापति देउवा पक्षले पार्टीको संघीय विधानअनुसार सबै निकायमा समायोजन नसकिएको दाबी गर्दै अहिले महाधिवेशनको कार्यतालिका बनाउन नसकिने बताउने गरेको थियो ।

कांग्रेसले प्रदेशबाहेक पार्टीका अरू निकायमा सहमतिमै अन्तरिम संरचना तयार गर्ने सहमति गरेको थियो । दुई साताअघि सभापति देउवाले पौडेल पक्षको बहिष्कारकाबीच ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन् । २८ विभागलाई बृद्धि गरी ४१ पु¥याउने र ती विभाग पूर्णता दिने मुख्य एजेन्डा छ । पौडेल पक्षले विभाग बढाउनु विधान विपरीत हुने बताएको छ । सभापतिले निर्वाचित भएको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग चार वर्षसम्म गठन नगरेको र अहिले महाधिवेशनलाई प्रभाव पार्ने गरी गठन गर्न खोजेको पनि पौडेल पक्षको आरोप छ ।

नेविसंघमा ११ औं महाधिवेशन गराउने नेतृत्वसहित कार्यसमिति बनाउने कि तीन वर्षे कार्यकाल नै भएको समिति बनाउने भन्नेमा विवाद कायमै छ । यस्तै कात्तिकमा कार्यकाल सकिएको जीतजंग बस्नेत नेतृत्वको तरूण दललाई नै अझै छ महिना निरन्तरता दिने प्रस्ताव देउवाले केन्द्रीय समितिमा प्रस्ताव लगिसकेका छन् । यी समग्र विषयमा पुस १० गते बस्ने केन्द्रीय समितिमा छलफल हुनेछ । गत शुक्रबार सहमति खोज्ने भन्दै बैठक स्थगित गरेपछि नेताहरूले सहमतिका पहल गरिराखेका छन् ।

सभापति देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । विधानमै भएको व्यवस्थाअनुसार केन्द्रीय समिति बैठकबाट पारित गराएर देउवा एक वर्ष कार्यकाल थप्ने पक्षमा छन् । महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्न सभापति देउवा सहमत भए कार्यकाल थप गर्न पौडेल पक्ष पनि सहमत देखिन्छ ।

Leave A Reply

Your email address will not be published.