प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

0

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका वडा नं. ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार राती केसीमाथि आक्रमण भएको हो । वडाध्यक्ष विक नेतृत्वको युवाहरुले आक्रमण गर्दा केसीको टाउकामा ५ वटा टाँका लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

कार्यालयको काम सकेर आफ्नो निवास तर्फ जाँदै गर्दा नगरपालिका–९ को राडी बजार नजिकै प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रम भएको उनले बताए । वडाध्यक्ष विकसहित उनका भाइ गोपाल विकलगायतका युवाहरुले आक्रमण गरेको डिएसपी खड्काले जनाए । वडाध्यक्ष केशरमानलाई प्रहरीले पक्राउ गरेपनि गोपाल फरार भएकाले खोजी भइरहेको बताइएको छ ।

वडाध्यक्ष केशरमानको डोजरले काम गरेको पैसा भुक्तानी नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत केसीमाथि आक्रमण गरेर प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले जानकारी दिए । पिडित केसीले किटानी सहित प्रहरीमा उजुरी दर्ता गरेका छन् । मुद्दा दर्ता भएसँगै घटनाको विषयमा गम्भिर रूपमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

घटनाको विषयमा भत्सर्ना गरेको छ । नगर उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै तत्काल दोषीलाई कारबाहीको माग गरेकी छिन् । दुई/तीन दिनदेखि पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

यहाँ कार्यरत कर्मचारीले पनि छुट्टै विज्ञप्ति निकालेका छन् । कर्मचारीले वडा नम्बर ३ का अध्यक्षको योजनामा उनका भाइ गोपाल र हरिश विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण गरेको भन्दै कडा कारबाहीको माग गरेका छन् । दोषीमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने विज्ञप्तिमाफर्त चेतावनी समेत दिइएको छ ।

Leave A Reply

Your email address will not be published.