परवेज मुशर्रफ देशद्रोही हुन सक्दैन: पाकिस्तानी सेना

0

काठमाण्डौं – पाकिस्तानी सेनाले पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफ देशद्रोही हुन नसक्ने जनाउँदै उनलाई अदालतले मंगलबार दिएको मृत्युदण्डको फैसलाले सिंगो पाकिस्तानी सेनालाई धक्का पुगेको जनाएको छ ।

पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई अदालतले मंगलबार सुनाएको फैसलाले पाकिस्तान सेनालाई धक्का पुगेको त्यहाँको सेनाले जनाएको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले मंगलबारै एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसला दुःखद् र पाकिस्तानी सेनालाई धक्का पुग्ने गरी आएकोे जनाएका छन् । विज्ञप्तिलाई पाकिस्तानी सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेसन (आईएसपीआर)ले हिजाे १७ डिसेम्बरमा आफ्नो ट्वीटर  पेजमा पोष्ट गरेको छ ।

‘पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफले ४० वर्ष देशको सेवा गरेका छन् । जुन व्यक्तिले देशको रक्षाका लागि लड्यो, त्यो व्यक्ति कहिल्यै देशद्रोही कदापि हुन सक्दैन । यो अदालती कारबाहीमा संविधानको पनि उपेक्षा गरियो । मुसर्रफलाई अदालतमा आत्मरक्षा गर्न पाउने अधिकारको हनन गरियो । ठोस प्रमाणबिना नैे हतारमा मुद्दामा फैसला सुनाइयो ।’

प्रवक्ता गफूरले पाकिस्तानी सेनाले अदालतको फैसला देशको संविधानअनुसार होस् भन्ने आशा राखेको पनि बताएका छन् । पाकिस्तानको लाहोर उच्च अदालतको तीन न्यायाधीशको बेन्चले मंगलबार मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

मुशर्रफ सन् २०१४ देखि दुवईमा छन् । स्वास्थ्योपचारका लागि दुवई गएका उनी सुरक्षा खतरा जनाई स्वदेश फिर्ता हुन नमानिरहेको अवस्थाबीच अदालतले उनीविरुद्ध मृत्युदण्डको फैसला सुनाएको हो ।

मुशर्रफले आफू पाकिस्तानी सेनाका प्रमुख रहेका बेला सन् २००७ मा सैन्य विद्रोहमाफर्त पाकिस्तान सरकारलाई कब्जा गरी स्वघाषित राष्ट्रपति बनेर शासनसत्ता आफ्नो हात लिएका थिए । सोही घटनालाई लिएर उनीविरुद्ध संविधानको गम्भीर अपहेलना र देशद्रोहीको अभियोगमा मुद्दा चलेको थियो । मुद्दा उनी सत्ताबाट बाहिरिएपछि दायर भएको थियो ।

मुशर्रफविरुद्धको मृत्युदण्डको फैसलापछि त्यहाँको सेनाले औपचारिक रुपमा विरोध जनाएको यो घटनालाई महत्वका साथ हेरिएको छ ।

(अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)

Leave A Reply

Your email address will not be published.