एकता टुंगो नलाग्दै राष्ट्रिय युवा संघभित्रकाे विवाद छताछुल्ल

0

काठमाण्डौं – सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालभित्रकाे विवाद छताछुल्ल भएको छ । पूर्वमाओवादी केन्द्र र पूर्वएमाले निकटका युवाहरूले एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

नेतृत्वमा रहेका युवाहरू नै एकले अर्कालाई माफी माग्नुपर्ने भन्दै सार्वजनिक रूपममा अभिव्यक्ति दिँदै आएका छन् । केहि समयअघि युवा संघका सहसंयोजक रमेशकुमार पौडेलले संयोजक रामप्रसाद सापकोटा ‘दीपिशखा’ ले माफी नमागे गम्भीर समस्या सिर्जना हुने भन्दै अन्तर्वाता दिएपछि विवाद थप चर्किएको युवा संघका एक केन्द्रीय सदस्यको भनाइ छ ।

सहसंयोजकको उक्त भनाइप्रति विशेष गरेर पूर्व वाइसिएलका नेताहरू आक्रोशित भएका छन् । एकता प्रक्रियालाई लम्ब्याउनका लागि सहसंयोजकले विभिन्न वाहना गर्दै आएको पूर्व वाइसीएलका महासचिव सुबोधराज सिर्पालीले आरोप लगाए । सहसंयोजक पौडेलले यसरी बोल्नु गलत मात्रै नभएर एकता प्रक्रियालाई लम्ब्याउन खोजेको आरोप उनको बुझाइ छ ।

जिल्ला तथा प्रदेश कमिटीमा निर्देश तथा पत्राचार गर्दा हस्ताक्षर कसले गर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ । पूर्ववाइसीएलका नेताहरु संयोजकले मात्रै गर्नुपर्ने अडानमा छन् भने पूर्वयुवा संघका नेताहरु संयोजक र सहसंयोजकले हस्ताक्षर गर्नुपर्ने माग गर्दै आएका छन् । संयोजकले मात्रै हस्ताक्षर गरेर जिल्ला तथा प्रदेशमा निर्देशन पठाएपछि सहसंयोजकले विरोध गरेको एक केन्द्रीय सदस्यले बताए ।

विवाद गर्न नहुने विषयमा सहसंयोजकले विवाद गर्दै आएको तर्क पूर्ववाइसिएलका महासचिव एवं राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सिर्पालीको छ । मातृ पार्टीमा समान दुई अध्यक्ष भएकाले संयुक्त हस्ताक्षर हुने भएपनि राष्ट्रिय युवा संघमा भने संयोजक र सहसंयोजक रहेकाले संयोजकले मात्रै हस्ताक्षर गर्नुपर्ने उनको भनाइ छ । ‘संगठन एक भइसकेपछि हस्ताक्षर संयोजकले मात्र गर्ने प्रचलन बिगतदेखि चल्दै आएको छ । यो सबै राजनीतिक संगठनले लागू गर्दै आएको कुरा हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

संगठनभित्रको विवाद आन्तरिक रूपमा समाधान खोज्नुपर्ने भएपनि आम युवाहरुलाई भ्रमित हुने अभिव्यक्ति दिने उपसंयोजक पौडेलले सार्वजिनक रुपमै माफी माग्नुपर्ने सिर्पालीको माग छ । केही समयपहिले भएको राष्ट्रिय युवा संघ नेपालको भेलामा सहसंयोजक पौडेलले तीन बुँदे लिखित असहमतिपत्र पेश गरेका थिए ।

यता सहसंयोजकले भने केन्द्रीय समितिले संयोजक र सहसंयोजकले संयुक्त रुपमा निर्णय गर्नुपर्ने अधिकार दिएकाले त्यसै अनुसार काम गर्नुपर्ने बताए । अनलाइन पानासँगको कुराकानीमा उनले कसैले व्यक्तिगत रूपमा भन्दापनि विधि, विधान र प्रक्रियाबाट संगठन सञ्चालन गर्नुपर्ने बताए । राष्ट्रिय युवा संगठन नेपाल कुनै महाधिवेशनबाट आएको नभई दुई वटा संगठनबीचकाे एकताबाट गठन भएकाेले सबैको बराबर अधिकार हुुनुपर्ने उनको जोड छ ।

आफूले संयोजकलाई लििखत रूपमा असहमति व्यक्त गर्दा पनि विवाद छताछुल्ल भएको उनको भनाइ छ । ‘मैले संयोजकलाई लिखित रूपमै असहमति व्यक्त गरेको छु, तर कुनै छलफल भएको छैन,’ उनले भने, ‘संयोजक अहिले विदेश भ्रमणमा हुनुहुन्छ, उहाँ आएपछि छलफल गरेर विवाद समाधान गर्छाैं ।’ उत्पन्न समस्यालाई छलफलको माध्यामबाट समाधान नगरिए एकतामा समस्या आउने सक्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.