नेकपाको सचिवालय बैठक : नयाँ सभामुखको चयनदेखी उपाध्यक्ष र कार्यवाहक प्रधानमन्त्रीको चयन सम्म

0

काठमाण्डौं – पार्टीबिधान अनुसार प्रत्येक तीन तीन महिनामा बस्नुपर्ने सत्तारूढ नेकपाको स्थायी समिति बैठक आज (आइतबार) बस्दै छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार प्राप्त गरेपछि पहिलोपटक स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

यसअघि सचिवालयका नाममा पार्टीका सिमित उच्च नेताहरुले गरेको निर्णयको आधारमा चल्दै आएको सत्तारूढ नेकपा लामो समय पछि बस्न लागेको स्थायी कमिटीको बैठक सँगै पार्टी भित्रका जल्दाबल्दा विवाद बिधिवत रुपमा स्थायी कमिटीमा प्रवेश गर्ने छ ।

सरकारको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते अपरान्ह संघीय संसदको हिउँदे अधिबेशन आह्वान गरेसँगै झण्डै अढाई महिनादेखि रिक्त रहेको संघीय संसदको नयाँ सभामुख चयन गर्ने बिषय पेचिलो बन्दै गएको छ । अहिले उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फे पार्टीका अर्को शक्तिशाली गुट माधव नेपाल गुटको भएकाले पनि पार्टीका दुबै अध्यक्षको चाहाना बमोजिम उपसभामुख पदबाट राजिनामा दिने सम्भावना लगभग समाप्त प्रायः देखिएको स्रोतले दावी गरेको छ ।

अर्कोतिर सभामुख र उपसभामुख एउटै पार्टी र लिङ्गबाट हुन नसक्ने संबैधानिक प्रावधानका कारण सभामुख नियुक्तिको कुरा पेचिलो बन्दै गएको छ । संसदीय दलका उपनेता तथा आफ्नो बिश्वासपात्र सुवास नेम्वाङलाई जुनसुकै मुल्यमा सभामुखमा नियुक्त गर्न कम्मर कसेर लागेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई सहमत गर्न सफल भएपनी पूर्व माओवादी खेमा आफ्नो समुहबाट नै सभामुख बनाउने कसरतमा खुलमखुल्ला लागेको छ भने प्रचण्डसँग मिलेर आफुलाई एक्ल्याउन लागेको बुझेका पार्टीभित्रै अर्को खेमाको नेतृत्व गरिरहेका माधव नेपाल समूह पनि आफ्नो हातमा आउन लागेको सभामुख पद कुनै मुल्यमा गुमाउन नचाहाँदा पनि यो बिषय जटिल बन्दै गएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एंब पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिन अगाडि नै सभामुखमा दलका उपनेता सुवास नेम्वाङलाई सभामुख र वामगठबन्धनबाटै निर्वाचित राष्ट्रिय जनमोर्चाकि दुर्गा पौडेललाई उपसभामुख बनाउने गरि सैद्धान्तिक सहमति भएको कुरा बाहिर आएसँगै नेकपा भित्र सभामुख नियुक्तीको बिषयलाई लिएर नयाँ विवाद सतहमा आएको हो, आजको स्थायी कमिटी बैठकमा यो बिषय प्रवेश गरे सँगै यसले कस्तो रुप लिने हो त्यो अबको केही समयपछि नै प्रष्ट हुनेछ ।

त्यसैगरी प्रधानमन्त्री बन्ने सपनामा रमाईरहेका वामदेव गौतमलाई उपाध्यक्ष बनाउन बिधान संशोधनको प्रस्ताव पनि आजको स्थायी कमिटीको बैठकमा पेश हुनेछ । उक्त प्रस्ताव पनि विवादरहित हुने सम्भावना न्यून रहेको नेकपा नेताहरुकै भनाई छ ।

पूर्व एमाले समुहबाट मात्रै उपाध्यक्ष नियुक्त गर्न लागीएको भन्दै पूर्व माओवादीको नारायणकाजी श्रेष्ठ समूह र पूर्व एमालेको माधव नेपाल समुहले कडा प्रतिरोध गर्ने सम्भावना छ । वामदेव उपाध्यक्ष नियुक्त हुँदा पूर्व माओवादी खेमाबाट नारायणकाजी श्रेष्ठ र माधव नेपाल समुहबाट भिम रावल पनि उपाध्यक्षको आंकाक्षी रहेको कारण पनि वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव नै धरापमा पर्न सक्ने जोखिम पनि उत्तिकै नेकपा नेताहरू नै बताउँछन् ।

त्यस्तै प्रधानमन्त्रीको स्वास्थमा समस्या आएसँगै सत्तारूढ नेकभाभित्र कार्यवाहक प्रधानमन्त्रीको दौड पनि सुरु भएको बुझिएको छ । आफुलाई कार्यवाहक प्रधानमन्त्रीको एकल दावेदार मान्ने उप प्रधानमन्त्री ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्रीको लाईनमा प्रथम दावेदार रहेपनी पार्टीको उपाध्यक्ष सँगै कार्यवाहक प्रधानमन्त्रीको दौडमा वामदेव गौतम सहित अन्य आकांक्षीको चर्चा चलेसँगै यो बिषयले पनि सत्तारुढ नेकपा भित्र नयाँ खाले प्रतिस्पर्धाको सुरुवात गराएको छ ।

प्रचण्डको पछाडि लागेर प्रधानमन्त्री बन्ने आश्वासनको पछाडि दौडनु भन्दा ओलीको बिश्वास प्राप्त गर्दै कार्यवाहक प्रधानमन्त्री बन्न वामदेवले खुट्टा उचालेसँगै सत्तारूढ नेकपाको शक्ति समीकरण पनि बदलिन लागेको कुराले राजनैतिक बृतमा चर्चा पाएको छ ।

त्यो सँगै आजको स्थायी कमिटीको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको आगामी ६ महिने कार्ययोजना सहितको राजनैतिक प्रतिवेदन समेत पेश गर्ने कार्ययोजना रहेको छ । कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा पेश गर्ने राजनैतिक प्रतिवेदनमा सरकारको प्रभावकारीतालाई लिएर प्रश्न उठ्ने सम्भावना भएपछि शनिबार तय भएको स्थायी समिति बैठक स्थगित गरिएको प्रधानमन्त्री निकट एक नेताको दावी छ ।

आज स्थायी कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनको बिषयलाई नै लिएर प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको कुरा बाहिरीएको थियो ।

Leave A Reply

Your email address will not be published.