आन्दोलित पत्रकारद्वारा प्रेस काउन्सिलमा तालाबन्दी, चाबी सञ्चार मन्त्रालयमा बुझाइयाे

0

काठमाण्डौं – पत्रपत्रिका वर्गीकरण अपारदर्शी र पक्षपातपूर्ण भएको भन्दै संचारकर्मीहरु प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।


काउन्सिलले हरेक आवमा देशभरबाट प्रकाशित पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा आर्थिक वर्ष २०७४\०७५ को वर्गीकरण अपारदर्शी र पूर्वाग्रहीपूर्ण गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । पत्रकारहरुको केन्द्रीय आन्दोलनको नेतृत्व नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य एवं प्रकाश साप्ताहिकका प्रकाशक÷सम्पादक दीपक पाण्डेले गरिरहेका छन् ।

वर्गीकरणको नतिजा सार्वजनिक भएदेखि नै आन्दोलित उनीहरु मंसिर २ गते काउन्सिलमा कार्यवाहक (कावा) अध्यक्ष किशोर श्रेष्ठसँग कार्यकक्षमै भेट गरेर पारदर्शी र निष्पक्ष रुपमा पत्रपत्रिका वर्गीकरणको मागसहित ज्ञापन बुझाइसकेका छन् । झण्डै महिना बित्दा पनि ज्ञापनपत्रबारे काउन्सिल मौन बसेपछि गत शुक्रबार कार्यवाहक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा उनीहरुले ताल्चा लगाएका छन् । तालाबन्दी गर्नुपहिले काउन्सिलको मूल ढोकामा धर्ना कार्यक्रम गरे भने कार्यक्रमलाई वरिष्ठ संचारकर्मीहरुले सम्बोधन गरेका थिए ।

ताल्चा लगाएपछि चाबी सूचना सिंहदरबारस्थित सूचना, प्रविधि तथा संचार मन्त्रालयमा बुझाएका छन् । चाबी मन्त्रालयका सचिव दीपक सुवेदीले बुझेका थिए । सचिव सुवेदीलाई तालाबन्दी गर्नुका कारण र मागबारे जानकारी गराइएको थियो ।

आन्दोलनमा पत्रकार महासंघका उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला शाखा पनि सहभागी छन् । काउन्सिलले आव २०७४÷७५ को वर्गीकरणमा निकै अपारदर्शी र विभेदपूर्ण गरेको र त्यसलाई चिर्न निष्पक्ष र न्यायोचित तरिकाले वर्गीकरण गर्नुको विकल्प नरहेपछि आन्दोलनमा उत्रन बाध्य भएको केन्द्रीय आन्दोलनका संयोजक पाण्डेले बताए ।

‘पत्रपत्रिका वर्गीकरण काउन्सिलले सधैं विभेद र अपारदर्शी तरिकाले गर्दै आइरहेको छ’ संयोजक पाण्डले भने, ‘अब आन्दोलन निर्णायक हुन्छ, यसले वर्गीकरणमा सहभागी अपारदर्शी पात्रहरुलाई सवक सिकाउनेछ ।’ वर्गीकरणको मुहानमा बस्नेहरु नै अपारदर्शी भएकाले पत्रपत्रिकाको वर्गीकरणमा पत्रकारहरुले सधैं विभेद र अन्याय खेप्न बाध्य भइरहेको उनले बताए । देशैभरका पीडित पत्रकारहरु आन्दोलित रहेको जनाउँदै माग सम्बोधन नभएसम्म आन्दोलन फिर्ता नहुने उनको भनाई छ ।

त्यस्तै महासंघको काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारीले पत्रपत्रिका वर्गीकरणमा काउन्सिलले हुकुमी शैली अपनाएको र पूर्वाग्रही बनेकोले पत्रकारहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए । अन्यायप र विभेदपूर्ण वर्गीकरणलाई नसच्याएसम्म आन्दोलन नरोकिने उनले बताए ।

संघर्ष समितिको आइतबार बसेको बैठकले आन्दोलन थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ । काउन्सिल मौन बसे देशैभरका पीडित पत्रकारहरु उपत्यका केन्द्रित भएर भीषण आन्दोलनमा उत्रने उनले बताए ।

शुक्रबार तालाबन्दीपछि उनीहरुले माग सुनुवाई गर्न दिएको २४ घण्टे अल्टिमेटम गुज्रिसक्दा पनि राज्य पक्षबाट बेवास्ता गरिरहेको भन्दै अध्यक्ष बिडारीले आक्रोश पोखे ।

आन्दोलनमा पेशा विभिन्न संघ संगठनहरुले एक्यवद्धता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.