काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बिहिवार अपरान्ह डिस्चार्ज भएका छन् ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली अस्पतालमा भर्ना भएको दशौं दिनमा डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्जपछि उनी सिधै प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।
एपेण्डिसाईटिसको शल्यक्रियापश्चात् आईसीयू कक्षमा उपचारार्थ रहेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले केही दिन आराम गर्नुपर्ने सुझावसहित निवास फिर्ता पठाइएको हो । सेन्टरले बिहिबारै एक प्रेस विज्ञप्ति जारी गरेर प्रम ओलीलाई केही दिन आराम गर्न भनेको छ ।
ओलीलाई मिर्गौलामा समस्या देखिएकै अवस्थाबीच एपेण्डिसाईटिसको शल्यक्रिया गरिएको थियो । पेटको शल्यक्रिया गरिएकाले मृगौला पुनः प्रत्यारोपण गर्ने वा नियमित डायलाइसिस गर्ने भन्ने विषयमा टुंगो लाग्न केहीदिन लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
प्रधानमन्त्रीको डिस्चार्जभन्दा केही समय अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालमै पुगेर उनको स्वास्थ अवस्थाबारे जानकारी लिएकी थिईन् ।