चिकित्सा शिक्षामा अवैध शुल्क विवाद: एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै

0

काठमाण्डौं – पोखराको गण्डकी मेडिकल कलेजमा बिहिबार सुरु भएको एमबीबीएस परीक्षामा प्रिन्सिपलका छोराछोरी मात्रै सहभागी भएका छन ।


चार मेडिकल कलेजमा अध्ययनरत एमबीबीएसका विद्यार्थीहरुले कलेज प्रशासनले असुलेको अवैध शुल्कको विषयलाई लिएर परीक्षा बहिष्कार गरेपछि कलेज सञ्चालकका छोराछोरीले मात्रै परीक्षा दिएका हुन् । उनीहरुलाई पास गराउन कलेजले नै प्रश्नपत्र समेत आउट गरेको जनाइएको छ ।

अन्य विद्यार्थी आन्दोलनमा रहेपनि प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठको छोरा र कलेजको सिईओ कृष्ण घिमिरेको छोरीले मात्रै परीक्षा दिएका छन । बिहान १० बजेदेखि परीक्षा शुरु भएपनि प्रश्न पत्र बिहानै आउट भएको गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले जनाएका छन् ।


आन्दोलनरत विद्यार्थीहरु विरोध जनाउन परीक्षा स्थलमा पुगेपछि प्रहरीसँग झडप समेत भएको छ । आन्दोलनमा उत्रिएका एक दर्जन विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर रविन्द्रप्रसाद श्रेष्ठले प्रश्नपत्र आउट नभएको दाबी गर्दै आफ्नो छोरा र सीईओको छोरा सँगै अन्य १८ / १९ जना विद्यार्थीले पनि परीक्षा दिएको जनाएका छन । । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बिहिबारदेखि एमबीबीएस प्रथम वर्षको परीक्षामा शुरु गरेको छ ।

तर गण्डकी मेडिकल कलेजसहित, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । बहिष्कारमा उत्रिएका विद्यार्थीहरुले बुधबार कलेज प्रशासनबाट प्रवेशपत्र लिई सडक र परिसरमा आगो लगाएर जलाएका थिए ।

कलेजले सरकारले तोकेकोभन्दा प्रति विद्यार्थी २० लाख रुपैयाँसम्म अवैध रुपमा शुल्क उठाएको भन्दै फिर्ता गर्न माग गर्दै आन्दोलित छन् । सरकार र शिक्षा मन्त्रालय साथै त्रिभुवन विश्वविद्यालयले बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्न पटकपटक निर्देशन दिँदै आएको छ ।

अवैध रुपमा सम्पत्ति थुपारेको आरोपमा चितवन मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा सम्पत्ति शुद्धिकरण विभागले यसअघि छापा मारेर कागजपत्र समेत नियन्त्रणमा लिएर अध्यायन गरिरहेको छ । बढी उठाएको शुल्क फिर्ता नगरे कलेज संचालकलाई ठगी कसुरमा मुद्दा चलाउन प्रधानमन्त्री ओलीले चेतावनी दिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.