एमबीबीएसका विद्यार्थीले प्रवेशपत्र जलाए, परीक्षा हल खाली

0

काठमाण्डौं – आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीले बिहिबारको एमबीबीएस परीक्षा बहिष्कार गरेका छन् ।

उनीहरुले बुधबार कलेजले बाँडेको परीक्षा प्रवेशपत्र लिएर सडकमा लगेर जलाउँदै परीक्षामा भाग नलिने घोषणा गरेका थिए । पाँच मेडिकल कलेजका विद्यार्थीहरुले एमबीबीएसको पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज (सीएमसी), नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् । कतिपय कलेजका विद्यार्थी प्रवेशपत्र लिएकाहरु पनि प्रश्नपत्र लिएर बाहिरिएका छन् । यी कलेजका करिब ७ सय विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् ।

क्षणिक सहभागी भई बाहिरिएकाहरुका अनुसार उनीहरुलाई कलेज संचालकले डर देखाई केहीबेर भएपनि हलभित्र बस्न अनुरोध गरेका थिए । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत भदौ ५ गतेबाट चिकित्सा शास्त्रका विद्यार्थीहरु देशैभर आन्दोलित अवस्थामा छन् ।

सोहीबीच मंसिर १० गते सरकार र कलेज संचालकबीच भएको दुई बुँदे सहमतिले पीडित विद्यार्थीले उठाएका मागलाई बेवास्ता गरेको र सहमतिले मेडिकल माफियालाई बचाउने कामबाहेक केही नभएको भन्दै आफूहरुको सहभागितामा सरकारसँग वार्ता नगराएसम्म आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थीहरुको माग छ ।

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा प्रति विद्यार्थीबाट २० लाख रुपैयाँसम्म अवैध रुपमा शुल्क असुलेर ठगी गरेको बताउँदै आएका छन् । अवैध शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने विद्यार्थीहरुको माग छ । माग पूरा गर्नेबारे सरकारको बेवास्ता कायमै रहे सरकारविरुद्ध आन्दोलन उठ्ने चेतावनी उनीहरुको छ ।

आन्दोलनको नेतृत्व ‘चिकित्सा शिक्षा संघर्ष समिति’ले गरिरहेको छ । समितिका संयोजक प्रकाश चन्द हुन् ।

सरकारले एमबीबीएसका लागि काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिरका लागि ४२ हजार ५० हजार रुपैयाँ तोकेको छ ।

Leave A Reply

Your email address will not be published.