बाग्लुङ जीप दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

0

काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बाग्लुङमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मंगलबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले बाग्लुङको निसीखोलामा मंगलबार बिहान भएको भयानक जीप दुर्घटनाले मुलुकलाई शोकमग्न तुल्याएको बताएका छन् ।

सभापति देउवा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । घाइतेको उपचारमा कुनै कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । साथै दुर्घटना नियन्त्रण गराउन सरकार असफल रहेको बताएका छन् ।

मंगलबार गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप भीमगिठेमा दुर्घटना हुँदा जीपमा सवार १४ जनाको मृत्यु र ३ जना गम्भीर घाइते भएका थिए । एक जना खोलामै हराइरहेको प्रहरीले जनाएको छ । हराएकाको खोजी भइरहेको जनाएका छन् ।
यही मंसिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट वुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस दिउँसोताका सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

एक तथ्यांकअनुसार मुलुकमा दैनिक रुपमा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाइरहेका छन् भने विदेशमा ३ नेपालीले ज्यान गुमाइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.