एड्सबाट दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु

0

एजेन्सी – प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको पाइएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो ।

पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरूको मृत्यु भएको जनाइएको छ ।

सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआईभीसहित बाँचेका छन् । उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

बिरामीलाई औषधोपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत बिरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ ।

त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत बिरामीलाई मात्रै औषधोपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ ।

सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ बिरामी थपिएका छन् ।

विश्वभर अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.