खसीकाण्डमा मुछिएका डीएसपी शाहीलाई करवाही गर्न सिफारिस

0

काठमाण्डौं – बाँके जिल्लाको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

डीएसपी शाहीले प्रहरी आचरणविपरीत तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग दसैंमा खसी मागेको काण्डमा मुछिएपछि अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने जिम्मासहित गठित समितिले तयार पारेको प्रतिवेदनले विभागीय कारवाहीमा गर्न सिफारिस गरेको हो ।

शाहीले खड्काले मोवाइल फोन कुराकानीमा प्रहरी आचरणविपरीत खसी मागेको आरोप पुष्टि भएपछि विभागीय कारबाहीको लागि सिफारिस भएको हो । साथै शाहीलाई साथ दिएको विषय पनि पुष्टि भएपछि प्रहरी नायब निरीक्षक (सई) सुरेन्द्रकुमार पन्तलाई पनि विभागीय कारवाही गर्न प्रतिवेदनमा भनिएको छ ।

तिहार अघि खसी मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा छानबिन समिति गठन गरी अध्यायन तथा छानबिन शुरु गरिएकोमा यही आइतबार समितिले प्रदेश नं. ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई बुझाएको प्रतिवेदनमा डीएसपी शाहीलाई आचरण उल्लंघन कसुरमा विभागीय कारबाही सिफारिस गरिएको छ ।

अब कार्यान्वयनका लागि प्रतिवेदनसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिने बताइएको छ । विभागीय कारबाहीअन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड वा बढुवा रोक्का गर्नै गर्न सकिने व्यवस्था छ । कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था पनि छ ।

शाहीविरुद्ध भदौ २७ गते राति कञ्चनपुरबाट काठमाडाैं ल्याउँदै गरेका ६५ वैध खसीलाई नियन्त्रणमा लिएको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार छ ।

Leave A Reply

Your email address will not be published.