कांग्रेसले भन्यो– आलममाथि कानूनले गर्ने कारवाही मान्य

0

काठमाण्डौं – फौजदारी मुद्दाको पुर्पक्षका लागि नख्खु कारागारमा रहेकात तत्कालीन नेपाली कांग्रेसतर्फका निलम्बित सांसद मोहम्मद आफताव आलममाथि कानून बमोजिम हुने सम्पूर्ण कारवाही पार्टीको लागि मान्य हुने नेपाली कांग्रेसले स्पष्ट पारेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपास्थित बीपीनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आलममाथि कानूनबमोजिम हुने कुरामा पार्टीको पूर्ण समर्थन रहने स्पष्ट पारेका हुन् ।

असोज २६ मा आलम पक्राउ पर्दा दुई दिनपछि पार्टी सभापति शेरबहादुर देउवाले आलमको पक्राउ र अभियोगको विरोध गर्दै सरकारलाई ‘१२ अघिको मुद्दामा किन पक्राउ गर्नुपर्यो ?’ प्रश्न गर्दै पक्राउ घटनाको कांग्रेसले प्रतिवाद गर्ने भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । त्यसपछि देउवाको मात्र नभई पार्टीकै व्यापक आलोचना भएको थियो ।

त्यसको दुई दिनपछि नै देउवाले आलम पक्राउ र उनीमाथि लागेका आरोपमा निष्पक्ष छानबिनमा पार्टीले सघाउने बताएर विरोधबाट पछि हटेका थिए । यसबारे पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति नै निकालेको थियो ।

कार्तिक २९ गते आलम जेल चलान भएपछि सोही विषय र समसायिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेपाली कांग्रेसले कानून पालनाका विषयमा सधैं प्रतिवद्ध रहेको र फौजदारी अभियोगमा मुद्दा चलाइएका सांसद निलम्बन हुने बताए ।

आलम कांग्रेसको तर्फबाट २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा रौतहटको क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद थिए । तर २०६४ चैत २७ गते साँझ रौटहटको राजपुरमा भएको बमविष्फोट र विष्फोटका घाइते र मृतकलाई नजिकैको इट्टाभट्टाको आगोमा खाँदेर जलाएको कसुरमा उनीविरुद्धद्ध पीडितहरुले दिएको जोहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो ।

उनीविरुद्ध विष्फोटक पदार्थ, हातियार तथा खरखजाना, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको थियो । सोही मुद्दामा उनलाई रौतहट जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।

Leave A Reply

Your email address will not be published.