चोरी मुद्दाका फरार प्रतिवादी ३५ वर्षपछि पक्राउ

0

धादिङ – धादिङ जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कैद भोगिरहेकै बेला जेलबाट भागेका फरार रहेका प्रतिवादीलाई ३५ वर्षपछि शनिबार प्रहरीले पक्राउ गरेको छ ।

धादिङ साविक धुँवाकोट गाविस–५ बस्ने राम बहादुर भन्ने ६९ वर्षीय सुब्बा वस्तीलाई शनिबार प्रहरीले निलकण्ठ नगरपालिका–१ खाल्टेमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

वस्तीलाई अदालतले २०४१ जेठ ८ गते मुद्दाको फैसला गर्दै ३ वर्ष ११ महिना ७ दिन कैद सजाय तोकेको थियो । सोहीअनुरुप जिल्ला कारागारमा रहेको बेला उनी २०४१ मंसिर ६ गते कारागारबाट भागेका थिए । कारागारबाट भागेको अर्को मुद्दामा उनलाई २०४२ मंसिर १७ गतेको फैसलाले थप ५ वर्ष ५ दिन थप कैद सजाय गरी जम्मा ८ वर्ष ११ महिना १२ दिन कैद सजायँ भएको थियो ।

साढे तीन दशकसम्म फरार रहेका वस्तीलाई विशेष सूचनाको आधारमा धादिङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यस्तै जिल्ला अदालत धादिङको २०५६ असोज १९ गतेको फैसलाले भवितव्य ज्यान मुद्दामा ६ महिना कैद र ५ सय रुपैयाँ जरिवाना भई फरार रहेका प्रतिवादी धुनिबेशी नगरपालिका–४ बस्ने दिपक मिजार भन्ने ४१ वर्षीय दिपेश मिजारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बाँकी कैद सजाँय भुक्तानका लागि दुवै जनालाई जिल्ला कारागार धादिङ चलान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.