पत्रकार न्यौपानेलाई तुरुन्त रिहा गर्न पत्रकार महासंघद्वारा माग

0

काठमाण्डौं – पत्रकार प्रल्हाद न्यौपनेलाई साता दिनदेखि प्रहरी हिरासतमा राखिएको छ । कार्तिक २४ मा काठमाण्डौंको लाजिम्पाटबाट गिरफ्तार पत्रकार न्यौपानेलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाइएकाे जनाएको छ ।

पत्रकार न्यौपाने फरकपत्र मासिकका संवाददाता हुन् । उनी नुवाकाेटका हुन् । उनलाई अहिले महानगरीय प्रहरीको बालाजु वृत्तको हिरासतमा राखिएको छ । गिरफ्तारीको नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाले आइतबार एक प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।

शाखाका अध्यक्ष शन्तराम बिडारीले अाइतबार जारी गरेको उक्त विज्ञप्तिमा सरकारले आस्था र विचारकै आधारमा झुठा आरोप लगाई कलमजीवि पत्रकारलाई गिरफ्तार गर्ने र आतंकित तुल्याउने काम सरकारले बारम्बार दोहोर्याउँदै आएको र मानमर्दन गर्ने र मानसिक यातना दिई संविधानले ग्यारेन्टी गरेको पूर्ण स्वतन्त्रताको हनन गरिरहेको उल्लेख गर्दै उक्त कार्य तत्काल बन्द गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

स्वतन्त्र प्रेसमा कार्यरत पत्रकारप्रति सरकारले अपनाएको गलत रवैयाकै कारण सरकारप्रति चौतर्फी रुपमा वितृष्ण पैदा भइरहेको स्मरण गराउँदै अध्यक्ष बिडारीले निर्भयपूर्वक समाचार संकलन, सम्पादन र सम्प्रेषण गर्न दिन सरकार र प्रहरीप्रशासनसँग माग गरेका छन् । पत्रकारलाई गिरफ्तार गर्ने, आतंकित पार्ने कार्य संविधानतः प्रत्याभूत अधिकारमाथि हमला भएको ठहर शाखाले गरेको छ ।

आगामी दिन विचार र आस्थाकै आधारमा निशस्त्र कलमजीवि पत्रकारमाथि धरपकड, आतंक र मानसिक यातना दिने कार्य नदोहोर्याउन माग गर्दै अध्यक्ष बिडारीले पत्रकार न्यौपाने लगायत हिरासतमा राखिएका सम्पूर्ण पत्रकारलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

भिन्न विचार र आस्था राख्ने पत्रकारमाथि केपी ओली नेतृत्व सरकारले झुठा मुद्दामा हैरानी दिने, आतंकित त्ल्याउने र धरपकड गर्ने हर्कतलाई पछिल्लो चरणमा तूव्र पारेपछि प्रेस जगतबाट सरकार चर्को रुपमा आलोचित बन्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.