चिलीद्वारा राष्ट्र संघीय जलवायु सम्मेलन नै रद्ध, राष्ट्र संघले भन्यो – वैकल्पिक स्थान खोज्ने छौं

0

बीबीसी – चिलीमा बढ्दो राजनीतिक आन्दोलनलाई लिएर त्यहाँ हुन लागेको अन्तर्राष्ट्रिय शिखर सम्मेलन नै रद्ध भएको छ । सरकार विरोधी प्रदर्शन जारी रहेका कारण चिलीले त्यहाँ हुन लागेको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन रद्ध गरेको हो ।

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले यो निर्णय गर्नुपरेकोमा आफूलाई दुःख लागेको जनाएका छन् । कोप२५ जलवायु शिखर सम्मेलन आउँदो डिसेम्बर २ देखि १३ सम्म गर्ने कार्यक्रम तय थियो । त्यसैगरी अर्को महिना एपेक ट्रेड फोरमको कार्यक्रम समेत तय थियो । संयुक्त राष्ट्र संघले जलवायु शिखर सम्मेलनको लागि आफूले वैकल्पिक स्थान खोज्ने जनाएको छ ।

जलवायु सम्बन्धी पेरिस संझौता कार्यान्वयनका सम्बन्धमा कोप २५ शिखर सम्मेलनमा विश्वका नेताहरुले छलफल गर्ने कार्यक्रम तय भएको थियो । यति छोटो समयको सूचनाको आधारमा यस खालको कार्यक्रम स्थगित गर्ने चिली पहिलो राष्ट्र भएको जनाइएको छ । सान्टियागोमा मेट्रोको भाडा बढाइएको विरुद्धमा त्यहाँ केही साता देखि सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । सो भाडा बृद्धि स्थगन भएपनि प्रदर्शन रोकिएको छैन । अहिले प्रदर्शनकारीले असमानता र महंगो स्वास्थ्य उपचार लगायतका कुरापनि जोडेर अहिलेपनि प्रदर्शन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.