ट्वीटरले राजनीतिक विज्ञापनलाई प्रतिबन्ध लगाउने

0

एजेन्सी – सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापनलाई विश्वव्यापी रुपमा रोक लगाउने भएको छ । राजनीतिक सन्देशहरू खरिद नभइ प्राप्त गर्नुपर्ने भन्दै ट्वीटरले उक्त प्रतिबन्ध लगाउने भएको हो । ट्वीटरको प्रतिस्पर्धी फेसबुकले भने राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध नलगाउने अडान राखेको छ ।

‘इन्टरनेट विज्ञापन व्यवसायिक विज्ञापनकर्ताका लागि अद्भूत रुपमा शक्तिशाली हुन्छन् र ज्यादै प्रभावकारी हुन्छन्, यस्तो प्रभावले राजनीतिक रुपमा खतरा निम्त्याउन सक्छन्, ’ट्वीटरका सिइओ ज्याक डोर्सेले आफ्नो ट्वीटमा भनेका छन् ।

सामाजिक सञ्जालमा राजनीतिक विज्ञापनमाथिको प्रतिबन्धले सन् २०२०को चुनावी अभियानलाई विभाजित गरेको छ । डोनाल्ड ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्केलले यस खालको प्रतिबन्ध ट्रम्प र कन्जर्भेटिभलाई चुप गराउने अर्को प्रयास भएको बताए ।

तर डेमोक्रेटिक उम्मेदवार जोय बिडेनका चुनावी अभियानका प्रवक्ता बिल रुसोले यो प्रेरक रहेको भन्दै विज्ञापन गर्दैमा कसैले नजित्ने बताए । ट्वीटरको यो प्रतिबन्ध २२ नोभेम्बरदेखि लागू हुने बताइएको छ । यसबारेको पूर्ण जानकारी १५ तारिखका दिन सार्वजनिक गरिने बताइएको छ ।
राष्ट्रपतिका पूर्व उम्मेदवार हिलारी क्लिन्टनले ट्वीटरको प्रतिबन्धको स्वागत गर्दै फेसबुकलाई पनि आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेकी छन् ।

अमेरिकी संघीय चुनावी अभियानका क्रममा ६ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये अधिकांश टेलिभिजन विज्ञापनमा खर्च गरिन्छ भने २० प्रतिशतमात्रै डिजिटल विज्ञापनमा खर्च गरिने विज्ञापन अनुसन्धान संस्था कान्टरले जनाएको छ । ट्वीटरमा दैनिक प्रयोगकर्ता १ करोड २६ लाख छन् भने फेसबुकमा गत सेप्टेम्बरमा दैनिक प्रयोकगर्ता १ अर्ब ६३ करोड पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.