‘जो बाइडेन र उनका छोराविरुद्ध अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन’

0

युक्रेनका पूर्व महाअभियोजनकर्ताको स्पष्टिकरण

बिबिसी – युक्रेनका पूर्व महाअभियोजनकर्ता (प्रोसिक्युटर जनरल) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनका सम्बन्धमा युक्रेनले अनुसन्धान गर्नु पर्ने कुनै कारण नरहेको बताएका छन् ।

युक्रेनका पूर्व महाअभियोजनकर्ता युरी लुत्सेन्कोले जो बाइडेन र उनका छोरा हन्टरविरुद्ध आफ्नो देशले अनुसन्धान गर्नु पर्ने कुनै कारण नरहेको बिबिसीसँग बताएका हुन् । उनीहरुका सम्बन्धमा अनुसन्धान गर्नु पर्ने भए अमेरिकामै अमेरिकाले नै गर्नु पर्ने उनको भनाई छ ।

उनले भनेका छन्, ‘युक्रेनको कानून अनुसार जो बाइटेड या हन्टर बाइडेनका सम्बन्धमा अनुसन्धान गर्नु पर्ने कुनै कारण देख्दिन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुलाईमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलार्य टेलिफोन गरी जो बाइडेन र हन्टर बाइडेनविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गर्न आग्रह गरेका थिए।

युक्रेनका पूर्व महाअभियोजनकर्ता युरी लुत्सेन्को

हालै सर्वाजनिक भएको सूचनामा ती कुरा खुलेपछि अमेरिकाको तल्लो सदनले ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेको छ । ट्रम्पमाथि व्यक्तिगत राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिस्पर्धीको छवी धुमिल बनाउन विदेश शक्तिको सहयोग मागेको आरोप छ । ट्रम्पले आरोप अस्वीकार गर्दै आएका छन् ।

ट्रम्प र जेलेन्स्कीबिच जुलाई २५ मा भएको टेलिफोन संवादको ट्रान्स्क्रीप्ट सार्वजनिक भएपछि ट्रम्पले बाइडेनसम्बन्धी अनुसन्धानका लागि आग्रह गरेको पुष्टि भएको छ । ट्रम्पले बाइडेन र हन्टरमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न भनेका थिए । जो बाइडेनका छोरा हन्टर बोर्डमा रहेको युक्रेनको ग्यास कम्पनीमा भएको भनिएको भ्रष्टाचार बारे छानबिन गर्न ट्रम्पले जोड दिएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

जो बाइडेन अमेरिकाको उपराष्ट्रपति रहेका बेला भ्रष्टाचारको काण्ड आएको र बाइडेनले आफ्ना छोरा कार्यरत कम्पनीमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन गरिरहेका उच्च अभियोजनकर्ता भिक्टर शोकिनलाई बर्खास्त गर्न युक्रेनी अधिकारीलाई दबाब दिएको ट्रमप तथा उनका सहयोगीको आरोप छ ।

जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने होडमा छन् । उनी उम्मेदवारीको होडमा सबैभन्दा अघि रहेका बेला ट्रम्पले आउँदो चुनावमा आफ्नो हितका लागि बाइडेनका सम्बन्धमा अनुसन्धान थाल्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।

भिक्टर शोकिन पदबाट हटेपछि युरी लुत्सेन्को जिम्मेवारीमा आएका थिए । उनी गएको महिना पदबाट हटेका हुन् । जो बाइडेनका छोरा कार्यरत रहेको प्राकृतिक ग्यास कम्पनी बुरिस्माका सम्बन्धमा छानबिन गर्ने कुनै योजना नरहेको र हन्टरका सम्बन्धमा अनुसन्धान हुने भने त्यो अमेरिकामै हुनु पर्ने युरीले बताएका छन् ।

ग्यास कम्पनीमा भएको भनिएको भ्रष्टाचार हन्टर बाइडेन बुरिस्माको बोर्ड सदस्य हुनु भन्दा दुई–तीन वर्ष पहिलेको रहेको पनि उनले उल्लेख गरेका छन् ।

युरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीसँग आफ्नो भेट भएको पनि स्वीकार गरेका छन् । भेटमा रुडीले बाइडेनका सम्बन्धमा युक्रेनमा अनुसन्धान सम्भव भए गर्न आफूसँग आग्रह गरेको पनि उले खुलाएका छन् ।

भेटका सम्बन्धमा युरीले भने, ‘मैले उनलाई (रुडी) पनि यहि जवाफ दिएको हुँ कि बाइडेनविरुद्ध युक्रेनमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन, यो मेरो कानूनी दायरामा पर्दैन । अनुसन्धान गर्ने भए अमेरिकामै त्यहिँको कानून अनुसार गर्नु पर्छ । आग्रह गरेमा मैले सूचना भने दिन सक्छु ।’

यस्तै युरीका अनुसार बाइडेन विरुद्ध आरोप लगाएर अनुसन्धान गर्नका लागि युक्रेनको कानून अनुसार कुनै पनि प्रमाण छैन ।

Leave A Reply

Your email address will not be published.