डिला संग्रौला भन्छिन् विदेशमा रहेका नेपालीलाई दोहोरो नागरिकता दिनुपर्छ

0

काठमाण्डौं प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला पन्त संग्रौलाले विदेशमा रहेका नेपालीहरूलाई दोहोरो नागरिकता दिन कुनै पनि कुञ्जुस्याइँ गर्न नहुने बताएकी छिन् ।

अष्ट्रेलियाको सिड्नीमा नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समितिले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रीय सदस्य डा.संग्रौलाले राजनीतिक अधिकार बाहेक विदेशमा रहेका नेपालीहरूलाई नागरिकता दिनुपर्ने बताइन् ।

‘संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी नागरिकलाई राजनीतिक अधिकार बाहेकका अधिकारसहित दोहोरो नागरिकता दिने विषयमा मोटामोटी सैद्धान्तिक सहमति भएको छ’, उनले भनिन्, ‘बरु नागरिकता दिने विषयलाई छिटोभन्दा छिटो टुंगाउने विषयमा नेपाली कांग्रेस सकारात्मक छ । नेपाल सरकारले पनि यसमा बखेडा गर्नु हुँदैन ।’

डा. संग्रौला संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य पनि हुन् । प्रतिनिधि सभाकी सांसद डा. संग्रौलाले विदेशमा रहेका नेपाली नागरिकले नेपालमा लगानी गर्न इच्छुक रहेपनि दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले गरेको व्यवस्थाका कारण लगानीभित्री नसकेको बताइन् ।

‘विदेशमा रहेका नेपाली नागरिकहरूको लगानी नेपालमा भित्र्याउन नेपाल सरकारले राखेको सर्त उपयुक्त छैन’, उनले भनिन्, ‘लगानी भित्र्याउने कानूनलाई सुधार गर्नुपर्छ ।’ नेपाल सरकारले विदेशमा रहेका नेपालीले नेपालमा लगानी गर्दा न्युनतम पाँच करोडको व्यवस्था गरेको छ । यो व्यवस्थाले लगानी नेपालमा भित्रिन नसकेको विदेशमा रहेका नेपालीहरूको गुनासो छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. संग्रौलाले विदेशमा रहेका नेपालीहरूको सिपलाई नेपालमा भित्र्याउनुपर्ने बताएकी छिन् ।

‘विदेशमा नेपालीहरूले धेरै कुरा सिकेका छन्’, उनले भनिन्¸‘त्यो सिपलाई नेपालमा भित्र्याउन सकियो भने नेपालको विकासमा ठूलो योगदान हुन्छ ।’ डा।संग्रौलाले विदेशमा रहेका नेपालीहरू स–साना लगानीलाई पनि नेपाल भित्र्याउन सकियो भने त्यसबाट रोजगारीका साथै विकासमा ठूलो योगदान हुने उल्लेख गरिन् ।

दशैँ, तिहार, छठ, नेपाल सम्वत लगायतका पर्वहरूको अवसर पारेर नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली समुदायले विशेष गरेर दोहोरो नागरिकताका विषयमा चासो राखेका थिए ।

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले पनि दोहोरो नागरिकता र लगानीका विषयमा चासो राखेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमा सिड्नीस्थित विभिन्न दलका सांसद र अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.