के कुनै एलियनले पृथ्वीलाइ हेरिरहेका छन ?

0

एजेन्सी – यस ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र कतै जीवन छ, त्यहाँ पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन ? अथवा होइन, ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ ,बाँकीका खरबो खरब पिण्डहरुमा कहीँ कतै जीवन छैन ।

ती फगत अनन्त ब्रह्माण्डमा फूल बुट्टा भर्ने प्रयोजनले मात्र अस्तित्वमा रहेका छन । यस जिज्ञासाको पक्ष–विपक्ष दुवैमाथि जति मगज खियाए पनि परिणाममा केही प्राप्त हुन्न। कारण ब्रह्माण्डको विस्तार पृथ्वीको वरिपरि ४६ पोइन्ट पाँच अर्ब प्रकाश वर्षसम्म रहेको ज्ञात भइसकेको छ । प्रकाशलाइ नै ४६ पोइन्ट पाँच अर्ब वर्ष लाग्छ भने जम्मा जम्मी ६०–६२ वर्ष पहिला अन्तरिक्ष यात्रामा पाइला टेकको हाम्रो विज्ञानको के कुरा गर्नु?

हाम्रो सबैभन्दा गतिशिल रकेटले यात्रा गर्ने हो भने हाम्रो सौर्यमण्डलको छिमेकी ‘प्रोक्सिमा सेन्टरी’ सौर्यमण्डलमै पुग्न ७० हजार वर्ष लाग्छ। हामीले ढंगले लुगा लगाउन सिकेको नै मोटामोटी १० हजार वर्ष पुग्यो होला ।

हाम्रो उन्नत विज्ञानले हासिल गरेको प्राविधिले अन्य कुनै ठाउमा एलियन (परग्रही) छन वा छैनन भन्नेबारे केही पनि बोल्ने सामर्थ्य राख्दैन । हो हामीभन्दा उन्नत विज्ञान क्षमता सम्पन्न परग्रही काही कतै छन् र उनीहरुले नै हामीसँग सम्पर्क गर्ने प्रयास गरेमा मात्रा दुई ग्रहका बासिन्दाबीच सम्पर्क–सम्बाद वा भेट हुन सक्छ । यसका लागि हाम्रा सबै प्रयास भने कमिलाले घसरेर चन्द्रमामा पुग्नु जति कै असम्भव कुरा हो ।

उडेर गति गर्नलाइ एनर्जी चाहिन्छ ,हाम्रा रकेटमा प्रयुक्त हुने इन्धन नै सबैभन्दा ठूलो बाधा छ। तपाई एउटा रकेटमा कति इन्धन राखेर पठाउन सक्नुहुन्छ? हाम्रा रकेटको वजनमा २ तिहाईभन्दा बढी तौल इन्धन कै हुन्छ । फेरि जति बढी गति त्यति बढी नै इन्धनको खपत। वैज्ञानिकले चालाकी प्रयोग गरेर पृथ्वीको गुरुत्वाकर्षणलाइ प्रयोग गरेर चन्द्र अथवा मंगल अभियानमा इन्धन खपत कम गर्छन् ।

यसै कारणले भर्खर भारतले पठाएको चन्द्रयान –२ लाई जम्मा ३ लाख ८४ हजार किमिको यात्रा गर्न ४८ दिन लामो समय लाग्यो । नत्र अहिले विज्ञानले हासिल गरिसकेको अधिकतम गतिले चन्द्रमामा पुग्न ८ घण्टाकै समय पर्याप्त हुन्छ ।

अमेरिकाले एउटा यान ८ घण्टा मै चन्द्रमाको ऑर्बिटसम्म पुर्याएको पनि छ । वैज्ञानिकले जबसम्म रकेट प्राविधिका लागि अझ उन्नत इन्धनको खोजी वा रकेट तकनीक आविष्कार गर्दैनन् तबसम्म यस दिशामा फड्को मार्न सम्भव छैन ।

तर हामी पृथ्वीका मानिसलाइ अन्य कतै हामी जस्ता प्राणी छन् भन्ने जिज्ञासा भने सधैँ रहँदै आएको छ । कहिलेकाहीँ पृथ्वी र अन्तरिक्षमा हाम्रा मानवीय प्रयास बाहेकका केही घटना देखिन आएमा हामी त्यसलाइ सीधै एलियनसँग जोडेर हेर्ने गर्छौ । हालै सार्वजनिक भएका तीनवटा भिडियोले एलियन विषयक चर्चा पुनः व्यापक बनेको छ ।

उक्त भिडियो अमेरिकन आर्मीका पाइलेटले बनाएका हुन् । पाइलेटहरुले आफू आकाशमा अभ्यासरत रहँदा आकाशमा उड्दै गरेको कुनै वस्तु देखे । ती उड्दै गरेका वस्तुको गति यति धेरै थियो कि त्यसको पीछा गर्नु संभव थिएन ।

त्यो उड्दै गरेको वस्तुमा न हाम्रा जहाज झै पखेटा थिए, न कुनै किसिमको इन्जिन वा इन्धन नै प्रयोग भएको थियो । भनौ यो कुनै अति उन्नत किसिमको ड्रोन थियो । पाइलेटले यसको भिडियो बनाए । तर यस भिडियोबारे अमेरिकन आर्मी वा अमेरिकाको खुफिया विभागले कुनै टिप्पणी गरेनन् ।

अमेरिकाको न्यूयोर्क टाइम्सले यस्ता तीनवटा भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक भएका भिडियोबारे ‘इन्टेलिजेन्सी न्यूज वेभसाइट ब्लैक वाल्ट’ का अनुसार ‘डिप्टी चीफ अफ आप्रेसन्स फर इन्फर्मेशन वारफेयर’का प्रवक्ता ले भिडियोमा देखिएको वस्तुलाई ‘स्पेसक्राफ्ट’ वा ‘अनआइडेन्टिफाई एरियल फेनोमेना’ ( यूएफओ) भनेका छन् ।

उनको यस अभिव्यक्तिले भिडियोमा देखिएको वस्तुको सत्यता पुष्टि भएको छ । यसै किसिमको घटना २००४ र २०१५ मा पनि प्रकाशमा आएको थियो ।अमेरिकाको रक्षा विभाग पेन्टागनसँग रहेका यी भिडियो अमेरिकी सरकार र रक्षा मन्त्रालयको स्वीकृति पछि सार्वजनिक गरिएका थिए । बिना कुनै टिप्पणी सार्वजनिक गरिएका यी भिडियो सार्वजनिक गर्नुको उद्देश्य भने विश्वका सबै देशलाइ जानकारी गराउनु रहेको थियो।

विश्व भरी बेला मौका यस्ता घटना प्रकाशमा आउने गरेका छन् । यससँग सम्बन्धित विज्ञहरुका अनुसार सन २००४ मा यस्तो यूएफओ ८० हजार फिट माथि एक्कासि देखा परेको थियो ।

माथि भनिएझैँ हाम्रो विज्ञानको सामर्थ्य अन्य कुनै ग्रहमा (एक्सो प्लेनेट) पुग्न सक्ने छैन । के अन्य कुनै ग्रहका हामी भन्दा उन्नत विज्ञान हासिल गरिसकेका प्राणीले हामी माथि नजर राखिरहेका छन् ? के बेला मौकामा उनीहरु पृथ्वीको निरिक्षण गर्न आउछन् ?

तथ्यको आधारमा टेकेर यसबारे केही भन्न सकिँदैन । ‘साइन्स फिक्शन’ सिनेमा र लेखनभन्दा बाहेक यस विषयमा केही भन्ने चरणमा हामी पुग्न सकेका छैनौँ ।

Leave A Reply

Your email address will not be published.